लुटपाट, मारपिट र ध्वंश गरेर नेपालले जित्दैन, हार्छ मात्र : कृष्ण सिटौला
गत सोमबार र मंगलबार युवा पुस्ता (जेन-जी)को आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो। सरकारी तथा नीजि संरचनाहरुमा आगजनी गरियो। विभिन्न राजनीतिक दलका नेताहरुको निजी घर र नेताहरु भौतिक आक्रमणमा परे।
दर्जनौं नेताहरुको घरमा आगजनी र तोडफोड मात्र गरिएन विस्तापित नै हुन पुगे। अवस्था सामान्य हुँदैगएपनि कांग्रेस, एमाले, माओवादी केन्द्रका नेताहरु अझै सुरक्षाकर्मीको निगरानीमा छन्। सामाजिक संजालमार्फत बाहेक मिडियामार्फत सार्वजनिक रुपमा अभिव्यक्ति दिइरहेका छैनन्।
काठमाडौंमा रहेका आफ्नो घरमा आगजनी भएपछि पूर्वमन्त्री एवम नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला अन्यन्त्रै बस्दै आइरहेका छन्। यसै सिलसिलामा नेपाल न्यूज बैंकले नेपालको पछिल्लो घटनाक्रमबारे उनीसँग छोटो संवाद गरेको छ।
देशमा हालको परिस्थिति कसरी सिर्जना भयो र घट्नालाई कुन रुपमा हेर्नुहुन्छ ?
कसरी सिर्जना भयो भन्ने कुरा त घट्ना घटाउनेलाई थाहा होला। तर मेरो विचारमा यो दुःखद् घटना हो। जेनजी पुस्ताका भाइबहिनीहरुले जुन माग राखेर प्रदर्शन गरे त्यसमा घुसपैठ भयो। र त्यसलाई हिंसामा मोड्ने काम भयो। प्रहरीको गोली चल्यो, धेरैको मृत्यु भयो, धेरै जना घाइते भए।
त्यसैले पहिलो दिन सिंगो नेपालका लागि दुःखद् घटना भयो। दोस्रो दिन, जसरी सिंहदरबादेखि देशभर लुटपाट भएको छ, मेरो पार्टीका सभापति शेरबहादुर देउवाको घरदेखि मेरो साथै देशभरका पार्टीका साथीहरुको घरमा आगजनी र लुटपाट भएको छ।
सरकारी कार्यालय र नीजि क्षेत्रका औद्योगिक वा व्यापारिक केन्द्रहरुमा धेरै ठूलो आगजनी र लुटपाट भएको छ। देशलाई अत्यन्तै ठूलो क्षति भएको र त्रासदिपूर्ण घट्ना भएको छ। अब म यसको पृष्ठभूमीतिर म जान चाहन्न।
तर यति आग्रह गर्न उपयुक्त हुन्छ भन्ने लाग्छ त्यो भनेको शान्ति कायम गर्नका लगि प्रथम प्रयास गर्नुपर्छ। सबैभन्दा मूलकुरा मानिसको बाँच्न पाउने अधिकार हो। एक नेपालीले अर्को नेपालीलाई लुटपाट र मारपिट गरेर, सार्वजनिक वा निजी सम्पत्ति आगजनी गरेर, ध्वस्त गरेर नेपालले जित्दैन, हार्ने मात्र हो। नेपाल र नेपाली जनताको जुन रुपमा क्षति भएको छ त्यसलाई मूल्यांकन गरेर अब पुनः शान्ति कायम गर्दै पुनःनिर्माण गर्न एकजुट हुनुपर्छ भन्ने ठान्दछु।
ती दिनका घट्नालाई विश्लेषण गर्दा म यत्तिनै भन्न चाहन्छु। र जेनजी पुस्ताका साथीहरुले शुसासन र सकारात्मक माग राखेर सडकमा आएपनि हिंसात्मक रुप दिने काम भएको छ, यो दुःखद् घटना हो
। पुनः यस्ता घट्नाहरु नदोहोरियोस। सबैभन्दा दुःखको कुरा भनेको सबै मानिसको मनमा हिंसा प्रवेश भएको छ, त्रास पैदा भएको छ। सबै तर्सिएका छन् र सिंगो नेपाल तर्सिएको छ। यस्तो अवस्थामा सबै नेपालीको मनमा प्रवेश गरेको हिंसा र भय हटाउनका लागि निकै ठूलो प्रयासहरु चाहिन्छ। त्यसका लागि हामी सबै एकताबद्ध हुन आवश्यक छ।
आन्दोलनपछि राजनीतिक अवस्था मोडिएको छ। प्रतिनिधि सभा विघटन भएको छ। यसमा राष्ट्रपतिको कदमलाई कसरी लिनुहुन्छ ?
संसद विघटनसम्मको जुन कार्य भएको छ त्यो संविधान विपरित छ। यसलाई संविधान सम्मत किमार्थ मान्न सकिदैन्। यस बारेमा पार्टीको धारणा सार्वजनिक भइसकेको छ। र प्रतिनिधि सभामा चिफविफहरुले पनि वक्तब्य निकालिसकेका छन्।
अब गैरसंवैधानिक निर्णयका विरुद्धमा सर्वोच्च अदालत जानेदेखि विभिन्न गतिविधि हुनसक्छन्। तर ति सबै शान्तिपूर्ण र रचनात्मक हुनेछन्। हामीले देशको भविष्यलाई र लोकतन्त्रको भविष्यलाई सोचेर त्यस्ता गतिविधिहरु हुनसक्छन्। यसमा पार्टी र पार्टीहरुबीच छलफल गर्नुपर्नेछ।
अहिले नेताहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्ने अवस्था बनिसकेको छैन्। पार्टी सभापति शेरबहादुर देउवा सैनिक व्यारेकमै हुनुहुन्छ, घरमा फर्किने अवस्था बनेको छैन्। उहाँमाथि जुन प्रकारको हिंसात्मक आक्रमण भयो जति निन्दा गरेपनि पुग्दैन्। यस्ता घटना नहुनु भन्ने कामना गर्नुपर्छ।
तर राष्ट्रपतिले आन्दोलनको म्यान्डेट र आवश्यक्ताको सिद्धान्तका आधारमा कदम चालिएको भन्नुभएको छ नि ?
संविधानले यस्तो प्रकारको निर्णय गर्ने अधिकार दिएको छैन्। यसमा यत्तिनै भनौं होला। तर राष्ट्रपतिमाथि पनि ठूलो दबाब परेको होला, त्यो दबाबलाई सहेर जेजति गर्नसक्नु हुन्छ त्यही गर्नुभयो होला।
तर यसबारे छलफल गर्नुपर्ने छ। र यो कदम गैरसंवैधानिक हो, यसमा स्पष्ट हुनुपर्छ। राष्ट्रपतिले कुन परिस्थितिमा निर्णय गर्नुभयो त्यो समय अनुसार मूल्याकंन गर्दै जानुपर्छ।
सामान्यत नयाँ सरकार बनेपछि अन्तर्राष्ट्रिय स्तर वा विभिन्न देशका प्रमुखहरुले शुभकामना र बधाई दिने चलन छ। तर यस पटक दलाइ लामाको पनि बधाई आएको छ, यसलाई अनेक कोणबाट विश्लेषण भइरहेको छ। तपाईले कुन रुपमा हेर्नुभएको छ ?
यो मलाई पनि अनौठो लागेको छ। यो भन्दा अगाडि यस्तो स्वागत र बधाई दिएको थाहा छैन्। नयाँ प्रधानमन्त्री बनेपछि मित्रराष्ट्रहरुबाट बधाई एवम शुभकामना आउने प्रचलन छ। तर दलाई लामाको किन आयो भन्नेबारे मैंलेपनि केही भन्न सकिन्।
जेनजी पुस्ताले दुई दिन आन्दोलन गरे, विशेषगरी दोस्रो दिनको आन्दोलन हिंसात्मक र विध्वंशकारी भयो। यस्तो हुनुमा नेपाली सेनाको भूमिकामाथि प्रश्नहरु उठिरहेका छन् नि ?
सुरक्षा निकायहरु दोस्रो दिनबाट पछि हटेको देखिन्छ। अब सेनाले सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति कार्यालयलगायतलाई सुरक्षा दिन नसक्नुकाबारेमा धेरै टिप्पणी गर्न चाहन्छ। तर यत्ति भन्न चाहन्छु अब सबै सुरक्षा निकायहरुले जिम्मेवार रुपमा काम गर्न सक्नुपर्छ। शान्ति कायम गर्न सकुन्।
राष्ट्रपतिले आगामी फागुन २१ लाई निर्वाचनको मिति तोक्नुभएको छ। यो संभव छ ?
निर्वाचन भइदिए त राम्रो हो तर मैंले संभावना देखिरहेको छैन्। अब परिस्थिति कसरी विकास हुन्छ त्यही आधारमा मूल्यांकन पनि गरौंला। झट्ट अहिले हेर्दा कसरी संभव होला र जस्तो लाग्छ।
हेरौं अब राष्ट्रपतिले के सोचेर निर्वाचनको म्यान्डेट दिनुभएको छ र प्रधानमन्त्री सुशीला कार्कीजीले कसरी निर्वाचन गर्नसक्छु भनेर म्यान्डेट लिनुभएको छ त्यसको मूल्यांकन गरौंला। तर आजको दिनमा विश्लेषण गर्दा निर्वाचन हुने छाँट देखेको छैन।
अब नेपाली कांग्रेस कुन रुपले अघि बढ्छ ?
यतिबेला हामी आमनेसामने बसेर छलफल गर्न पाएका छैनौं। हिजोमात्र जुम बैठक बसेर राष्ट्रपतिको कदम वा संसद विघटनविरुद्ध एकताबद्ध भएका छौं। त्यसपछि पार्टीको बैठक बसेर थप निर्णय गर्नेछौं। यतिबेला देशभरका साथीहरु एवम पार्टीभित्र एकताबद्ध हुन जरुरी छ।
पार्टीभित्र बृहत एकता आवश्यक देखिएको छ। देशभरका नेता साथीहरुलाई, भ्रातृ संगठन, शुभेच्छुक संस्थाहरुका साथीहरुलाई मेरो विनम्र अनुरोध के छ भने सबै सजग भएर एकताबद्ध हुनुहोस। यतिबेला हामी आक्रोशित भएर कहीं जाने अवस्था छैन्। र समाजमा शान्ति कायम राख्नका लागि भूमिका निर्वाह गर्न आग्रह गर्दछु। देश ठूलो हिंसामा फसेका बेलामा हामीले शान्तिमा रुपान्तरण गर्नेतर्फ लाग्नुपर्नेछ।
बाँकी कुरा आगामी दिनमा पार्टीका बीचमा पनि छलफल गर्छौ, अन्य पार्टीहरुसँग पनि छलफल गर्नेछौं। परिस्थिति सहज भएपछि छलफल गरेर देशभरको क्षति विवरण संकलन गर्नेछौं। देश संकटग्रस्त अवस्था रहेकाले यसबाट मुक्त गराउनु दायित्ववोध गर्नुपर्ने छ। एकताबद्ध पार्टीले नै देखिएका चुनौतीहरुको सामना गर्न सक्दछ।
आन्दोलनमा तपाईंको पार्टी नेपाली कांग्रेस साथै अन्य राजनीतिक दलमा आबद्ध जेनसी पुस्ताका साथीहरुपनि आबद्ध भएको देखिन्थ्यो। उनीहरुप्रति तपाईको भनाइ के छ ?
जेनजी पुस्ताका साथीहरुलाई मेरो आग्रह के छ भने समाज निर्माण गर्ने अभियान शान्तिपूर्ण ढंगले अहिंसामा आधारित हुनुपर्छ। त्यसले ल्याएको परिवर्तन स्थायी र दिर्घकालिन हुन्छ। अहिले त हिंसाको लपेटामा परेर ठूलो क्षति भएको छ, सयौं खर्बौंको क्षति भएको छ।
नेपालकै इतिहासमा अहिलेजस्तो क्षति भएकै थिएन्। धेरैबर्ष पछि नेपालको अर्थ व्यवस्था धकेलिएको छ। यति ज्यादा मानिसको मनमा त्रास प्रवेश गरेकै थिएन्, कलिला युवाहरुको मनमा हिंसा प्रवेश गरेकै थिएन्। अब यसको विकसित रुप अघि बढ्यो भने डरलाग्दो रुप लिन्छ। यसले समाजलाई ध्वंश बनाउँछ।
राजनीतिक विचारधार, संगठन आफ्नो ठाउँमा छ, विश्वास र आस्था आफ्नो ठाउँमा छ। तर जुनसुकै अवस्थामा शान्तिपूर्ण अवस्थामा मानिस रहनुपर्छ।
धैर्यता र संयमताका साथ जे कुरा सोचिन्छ त्यसबाट मात्र समाज निर्माण गर्न सकिन्छ। सकारात्मक सोच र विचारले मात्र समाज निर्माण गर्न सकिन्छ, बदलाको भावनाले समाज बन्दैन।
समन्वय, एकताको भावनाले, सबैले सबैलाई सहयोग गर्ने भावनाले मात्र समाज बनाउन सकिन्छ। त्यसैले जेनजी पुस्ताले भाइबहिनीहरु सकारात्मक, रचनात्मक बन्नुपर्छ। तपाईहरु सिर्जनात्मक बन्नुपर्छ, तपाईहरुलाई अग्रणी पुस्ताले भर गर्छ। राष्ट्रिय एकता निर्माण गर्नलाई सकारात्मक बन्नुपर्छ र संयमित बन्न आग्रह गर्न चाहन्छु।







डिसी नेपाल







Facebook Comment