शान्ति र पुनर्निर्माणका लागि एकताबद्ध भएर जुटन सुदूरपश्चिम कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले मंगलबार एक वक्तव्य जारी गर्दै जेनजी आन्दोलन पश्चातको घटनाक्रमपछि देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउनका लागि सबै पक्षसँग संयम, संवाद , एकता र भातृत्व कायम गर्न अपिल गरेको छ ।
प्रदेश कार्यबाहक सभापति लोकराज अवस्थीले वक्तव्य जारी गर्दै आन्दोलनका क्रममा भाद्र २३ र २४ गते ज्यान गुमाउने युवा र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
‘कांग्रेसका सभापति शेरबहादुर देउवा र पार्टी केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमणको घोर भ्रत्सना गर्दछौं। र, उहाँहरूको स्वास्थ्य लाभको कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
नागरिकको बोल्न पाउने अधिकारको रक्षाका लागि लडेका कांग्रेस सभापतिमाथि अमानवीय ढंगले भौतिक आक्रमण दुःखद् र निन्दनीय भएको कांग्रेस सुदूरपश्चिमको ठहर छ।
जेनजी आन्दोलनको एजेन्डामा नरहेको सिंहदरबार, शितल निवास, संसद् भवन, सर्वोच्च अदालत, देशका मुख्य सरकारी कार्यालय, ब्यवसायीक प्रतिष्ठान, सञ्चार गृहसँगै देशका विभिन्न भूभाग र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयसँगै अन्य सरकारी कार्यालय, विभिन्न नगर/गाउँपालिका, कांग्रेस सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय,व्यक्तिका निजी घर, जिल्ला तथा क्षेत्रका पार्टी कार्यालयलगायतमा भएको आगजनीले देशमा खर्बौंको संरचना ध्वस्त भएको घटनाले आफूहरूलाई मर्माहत तुल्याएको विज्ञप्तिमा उल्लेख छ।
आन्दोलनका क्रममा घुसपैठ भएको जेनजीले पनि स्विकार गरेको अवस्थामा यस्ता कार्य गर्ने तत्त्वलाई तत्काल सरकारले कानुनी दायरामा ल्याई कडा कारबाहीसँगै देशब्यापी रुपमा भएको विध्वंसको छानबिन गर्न उच्च स्तरीय आयोग गठन र पुनर्निर्माणका लागि यथासक्य चाँडो योजना निर्माण गर्न आग्रह गरिएको छ।
अहिलेको विषम एवं अस्थिर परिस्थितिबाट उठ्न र पुनर्निर्माणमा जुट्न संयम, संवाद र एकता अपरिहार्य रहेको कांग्रेस सुदूरपश्चिमको ठहर छ।
अत्यन्तै कठिन अवस्था र प्रतिकूलताबीच पनि ‘सामाजिक एकता र सदभाव’ कायम राख्दै संयमित भएर देशलाई शान्ति र पुनर्निर्माणको दिशामा अघि बढाउन हामी सबै पक्षसंग संयम र एकता साथ प्रस्तुत हुन अपिलसमेत गरेको छ। साथै, प्रतिनिधि सभा विघटनप्रति कांग्रेस सुदूरपश्चिम कार्यसमितिले घोर आपत्ती जनाउँदै सरकार गठनलगायत गरिने हरेक कार्य संविधानमा टेकेर हुनुपर्ने र देशमा भएको ऎतिहासिक उपलब्धि गुम्न नदिन लोकतान्त्रिक शक्ति लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै एक ढिक्का हुनसमेत कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति हार्दिक अपिलसमेत गरेको छ।







डिसी नेपाल







Facebook Comment