कार्यालय जलाइए पछि प्रदेश सरकारको भुक्तानी प्रणाली ठप्प

डिसी नेपाल
१ असोज २०८२ १५:०२
136
Shares

सुर्खेत । जेनजी आन्दोलनकारीहरुले कार्यालय जलाइ दिएपछि कर्णाली प्रदेश सरकारको सरकारी भुक्तानी प्रणाली ठप्प भएको छ। जेनजी पुस्ताका आन्दोलनकारीले २४ गते प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका)मा आगजनी गरेका थिए।

आगजनीमा कार्यालय सम्पूर्ण कागजात, कम्प्युटर तथा अन्य आवश्यक उपकरणहरु जलेर नष्ट भएपछि प्रदेश लेखा नियन्त्रण कार्यालयका आर्थिक सम्बन्धि सम्पूर्ण गतिविधिहरू अनिश्चितकालका लागि प्रभावित बनेका छन्।

कर्णाली प्रदेश सरकार र यहाँका स्थानीय तहको सार्वजनिक वित्त व्यवस्थापनको पाटोलाई चुस्तदुरुस्त र पारदर्शी राख्ने संवैधानिक जिम्मेवारी बहन गरेको कार्यालय नै आन्दोलनकारीले आगजनी गरेका थिए।

कार्यालयमा रहेका लेखासम्बन्धी सम्पूर्ण कागजी दस्ताबेज र उपकरण जलेर नष्ट भएपछि प्रदेश सरकारको समग्र वित्तीय व्यवस्थापनको पाटो रोकिएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतका प्रमुख रत्नप्रसाद सुवेदीले बताए।

कार्यालयका पुराना आयव्यय विवरण, कर्मचारीको तलब तथा भुक्तानी आदेशसम्बन्धी सम्पूर्ण फाइल जलेर नष्ट भएको सुवेदीले बताए।

‘डिजिटल प्रणालीमा सुरक्षित गर्न प्रयोग गरिने उपकरणसँगै भौतिक अभिलेख जलेपछि हिसाब मिलान र प्रमाणीकरणमा कठिनाइ भएको छ’ उनले भने, ‘केही समयका लागि प्रदेश सरकारको चालू र पुँजीगत बजेट खर्च प्रणाली नै ठप्प अवस्था छ।’

प्रदेश लेखा नियन्त्रक कार्यालयमार्फत प्रदेशका विभिन्न मन्त्रालय, मातहतका कार्यालय, लोकसेवा आयोग तथा अन्य कार्यालयमा कार्यरत कर्मचारीलाई मासिक तलब–भत्ता समेत भुक्तानी गर्न सकिने अवस्था नरहेको उनले बताए।

जेनजी आन्दोलनकारीको आगजनीले खरानी बनेको कार्यालयका नौ वटा मोटरसाइकल र दुई चारपाङ्ग्रे गाडी आगजनीबाट पूर्णरूपमा नष्ट भएको छन्। आगजनीका कारण कार्यालयमा विद्युत्, इन्टरनेट, टेलिफोन र खानेपानी सेवा पूर्णरूपमा अवरुद्ध छ। प्रदेश सरकारले संकलन गर्ने कर, राजस्व र अन्य आम्दानीको लेखाजोखा समेतमा असर परेको कार्यालय प्रमुख सुवेदीले बताए। भवनबाहेक सेवा प्रवाहका लागि आवश्यक सम्पूर्ण सामग्री पुनः बनाउनुपर्ने र खरिद गर्नुपर्ने अवस्था रहेको कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.