अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अध्यावधिक गरिने
काठमाडौं । सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अध्यावधिक गर्ने तयारी गरेको छ।
बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसंग निर्वाचन कानून संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरि मतदाता नामावली अध्यावधिक गर्ने विषयमा छलफल गरेका हुन्।
गृहमन्त्री अर्यालले निर्वाचनसम्बन्धी कानुनमा देखिएका व्यवधानलाई अध्यादेशबाट संशोधन गरेर सवैलाई मतदानको अवसर प्रदान गर्न खोजिएको बताए। उमेर पुगेर पनि मतदाता नामावलीमा नाम समावेश नभएका युवाहरूलाई मतदानको अवसर दिन मतदाता नामावली अध्यावधिक गर्ने उनले बताए।
त्यस्तै विदेशमा रहेका नेपाल नागरिकलाई समानुपातीतर्फ मतदानको व्यवस्था गर्न पाउने गरि आयोगसंगको समन्वयमा कानुन बनाउने सहमति भएको उनले बताए।
त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विद्यमान कानुनबाट नयाँ मतदाता नामावली संकलन गर्न सक्ने अवस्था नरहेकाले कानुनमा बाधा व्यवधान हटाउन सके अध्यावधिक गर्न सकिने बताए। उनले सरकारले तोकेको समयमा निर्वाचन गर्न आयोग सक्षम र तयार रहेको उल्लेख गरे।
सुशीला कार्की नेतृत्वको सरकारले प्रतिनिधिसभा बिघटन गर्दै फागुन २१ गते निर्वाचनको मिति तय गरेको छ। निर्वाचनको मिति घोषणा भएपनि मतदाता नामावली संकलन बन्द गर्नुपर्ने कानुनी प्रावधान छ।







डिसी नेपाल







Facebook Comment