संसद भवन, भाटभटेनी सुपरमार्केटका विभिन्न भवन तोडफोडमा भारतीय लुटेरा संलग्न

नेपाली सेनाद्वारा आन्दोलनमा ६० भारतीय लुटेरा पक्राउ

डिसी नेपाल
३ असोज २०८२ ६:३५
2.5k
Shares

काठमाडौं । युवा पुस्ता अर्थात जेन जी समूहले घोषणा गरेको आन्दोलन हिंसात्मक एवं लुटपाट हुनुमा अवान्छित घुसपैठको कुरा सबैतिर आइरहेका बेला नेपाली सेनाले आन्दोलनका क्रममा ६० जना भारतीयहरुलाई पक्राउ गरेको पाइएको छ।

बानेश्वरस्थित संसद भवनमात्र होइन, भाटभटेनी सुपरमार्केटका विभिन्न भवनहरु तोडफोड र लुटपाटका क्रममा ती भारतीयहरु संलग्न रहेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि झन् अराजक बनेको हुललाई नियन्त्रण गर्ने क्रममा कर्फ्यू आदेश जारी गरी भदौ २४ गते साँझदेखि शान्ति कायम गर्ने जिम्मेवारी सेनाले लिएको थियो।

भदौ २४ गते नेताका घरहरु एवं सरकारी कार्यालयहरु जताततै तोडफोड र आगजनी भई स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि नेपाली सेनाले शुरुमा मुख्य नेताहरु र मन्त्रीहरुको व्यवस्थापन गर्नतिर ध्यान केन्द्रीत गरेको थियो।

अपरान्ह तत्कालीन प्रधानमन्त्री ओलीको समेत व्यवस्थापन सकेपछि सेनाले सडक अराजकता नियन्त्रणतर्फ प्रयास गरेको र यसक्रममा ती भारतीयहरु समातिएका थिए।

भाद्र २४ गते पक्राउ गरी सैनिक व्यारेकमा राखिएका ती भारतीय हुलदंगाकारीहरुलाई नेपाली सेनाले भाद्र २५ गते नै नेपाल प्रहरीलाई बुझाएको थियो।

प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो, ‘एक हुल भारतीय हुलदंगाकारीहरुलाई पक्राउ गरी सेनाले बुझाएको छ, उनीहरुमाथि छानविन पनि भइरहेको छ। सुरक्षाका कारण उनीहरुलाई राखिएको ठाउँबारे बताउन सकिँदैन।’

आन्दोलनमा भारतीय घुसपैठको कुराले राजनीतिक दल र तिनका कार्यकर्ताहरुको मथिंगल हल्लिरहेको बेला यो प्रकरण बाहिर आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.