आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण

डिसी नेपाल
३ असोज २०८२ ७:३४
112
Shares

मकवानपुर। जेनजी आन्दोलनको नौ दिनपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन्।

गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सुरक्षा कारण घरभित्र सीमित रहेका मुख्यमन्त्री बानियाँ बिहीबार तोडफोड र आगजनीबाट क्षतिग्रस्त प्रदेशका सरकारी तथा निजी संरचनाको निरीक्षणका लागि हेटौँडामा देखा परेका हुन्।

मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर लगायतका सरकारी तथा निजी निकायको अवलोकन गरेका थिए।

आन्दोलनका क्रममा उनका निजी चार वटा घर र व्यवसाय प्रतिष्ठानमा क्षति पुगेपछि केही समय आन्तरिक व्यवस्थापनमा समय दिएका मुख्यमन्त्री बानियाँ मंगलबारदेखि पुनः सक्रिय भएका हुन्। उनले यसबीचमा काठमाडौँमा बसेर मन्त्री, सांसद र पार्टीका नेताहरूसँग छलफल गर्दै क्षति व्यवस्थापनका उपायबारे निर्देशन दिएका थिए।

निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, ‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ,’उनले भने।

उनले तत्काल प्रदेश सरकारको सेवा प्रवाह र प्रशासनिक कामकाज प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्था खोजी भइरहेको बताए। ‘सरकारी मात्र होइन, निजी संरचनामा भएको क्षतिको पनि मूल्याङ्कन गरेर आवश्यक कदम चालिन्छ,’ मुख्यमन्त्री बानियाँले भने।

सभामुखको राजीनामासहित कानुनी र प्रशासनिक विषयहरू प्रक्रियागत ढंगले समाधान हुने उनको भनाइ छ। ‘जुन संरचना छिटो तयार गर्न सकिन्छ, त्यसलाई प्राथमिकता दिएर सरकार काम अघि बढाउँछ,’ उनले जोड दिए।

मुख्यमन्त्री बानियाँको यो सार्वजनिक अवलोकनलाई सरकार क्षति व्यवस्थापन र स्थायित्वतर्फ लागिपरेको संकेतको रूपमा लिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.