नमोबुद्धमा कभर्ड हल निर्माण शुरु

डिसी नेपाल
२३ भदौ २०७६ ११:३१

काभ्रे । नमोबुद्ध नगरपालिका–४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ। यसका लागि जमीन सम्याउने काम भइरहेको छ। प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित रु एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमीन दिने निर्णय गरेको छ। “यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमीनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भने। कभर्ड हलका लागि गत आर्थिक वर्षमा रु एक करोड ७५ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो।

हाललाई भलिबल, ब्याटमिन्टन, बास्केटबल तथा अन्य साना (इन्डोर) खेल सञ्चालनका लागि संरचना निर्माण गरिने परियोजनाका सव–इञ्जिनीयर मनोज दाहालले बताए । कभर्ड हल निर्माणपश्चात् जिल्लाको खेल क्षेत्रमा ठूलो योगदान हुने तथा क्षेत्रीयस्तरमा खेलिने विभिन्न इन्डोर खेल सहजरुपमा आयोजना गर्न सकिने प्रदेश सभासदस्य रत्न ढकालले बताए ।

उनका अनुसार कभर्ड हलमा करीब ६०० मानिस अट्नेछन् । ३ नम्बर प्रदेशस्थित रामेछापको मन्थलीमा कभर्ड हल निर्माण शुरु भइसकेको छ भने दोलखाको मैनापोखरी, सिन्धुपाल्चोकको चौतारामा निर्माण प्रक्रियामा छन्। सिन्धुली जिल्लाको कमलामाई र दुधौलीमा भने रङ्गशाला निर्माणको प्रक्रिया थालिएको धुलिखेलस्थित प्रदेश परियोजना कार्यान्वयन एकाईले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *