नेताहरू बाहिर धेरै बोल्ने आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने प्रवृत्तिका छन्: विद्यादेवी भण्डारी

नयाँ पुस्ताको माग र आकांक्षा पहिचान गरेर सम्बोधन गर्न आवश्यक

डिसी नेपाल
१० असोज २०८२ १८:०३
92
Shares

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केहीपनि गर्न नसक्ने भन्दै आलोचना गरेकी छिन्।

शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, ‘दलका नेताहरूले बाहिर चाँही धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यस्तो तरिकाको सार्वजनिक आलोचना छ। त्यसैले सबैको कुरा सुन्नुपर्छ। सोही आधारमा पार्टीको मर्म अनुसार काम गर्न सकेको छ कि छैन् बुझ्न आवश्यक छ। नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्नसक्छ, त्यसमा ध्यान दिनुपर्छ। नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ।’

त्यस्तै उनले सधैं यस्तो अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै समाधान निकाल्नुपर्ने धारणा राखिन्। शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने बताउँदै उनले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणका काम अगाडि बढाउन आग्रह गरिन्।

‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन। यसको हामीले समाधान निकाल्नुपर्छ। शक्तिका स्रोत भनेका जनताहरु हुन्। जनताहरुका बीचमा गएर राजनीतिक आफ्नो नीति, दर्शन अनुसार कार्यक्रम गर्नुभएको छ कि छैन् त्यो बुझ्नुपर्छ। जनताले के सुझाव दिन्छन् त्यस आधारमा अघि बढ्नुपर्छ। पार्टीहरुकाबीच पनि समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यक छ। पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएमात्र समस्यालाई समाधान दिन सक्छौं। शान्ति, स्थायित्वको लागि विशेष ध्यान दिनुपर्छ। राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो गरी अगाडि बढाउन आग्रह गर्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.