धनगढी–खुटिया सडकखण्डमा दुई पक्की पुल निर्माण

डिसी नेपाल
१३ असोज २०८२ १४:५७
20
Shares

गोदावरी । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–८ जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ स्थित सुकुटी खोलामा पक्की पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको हो।

ती दुई पक्की पुल निर्माणका लागि रु तीन करोड १५ लाखको लागतमा गत आर्थिक वर्षको पुसमा पृथ्वी र पशुपति जेभी निर्माण कम्पनीसँग असार मसान्तमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको इञ्जिनियर रैखोलाले बताउनुभयो। उहाँले निर्माण कम्पनीले कामलाई प्राथमिकतामा राखेर पुल निर्माणको काम गर्दै आएकाले समयावधी थपिएको बताए।

जोनापुर खोलाको र सुकुटी खोलाको पुल निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको इञ्जिनियर रैखोलाले बताए। उनले पुल निर्माणको कार्य सम्पन्न भएको बताउँदै कालोपत्र र खोला किनारतिर तटबन्धको काम मात्र बाँकी रहेको जानकारी दिए।

धनगढी–स्याउले–हाटखोलीसम्म १३ किलोमिटर ४०० मिटर सडक कालोपत्रको काम अघिल्लो आर्थिक वर्ष २०८०/८१ असारमा सम्पन्न भइसकेको थियो। उक्त सडकखण्डअन्तर्गत स्याउले–हाटखोली सात किलोमिटर कालोपत्रको काम सम्पन्न हुने क्रममा रहेको आयोजना कार्यालयले जनाएको छ।

विसं २०६४ मा धनगढी–खुटिया–दिपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ‘ट्रयाक’ खोल्ने काम गरिएको थियो। त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएकामा पछि पूर्वपश्चिम राजमार्गको स्याउले–धनगढीसम्मको १० किलोमिटर सडक थपेर ९२ किलोमिटर कायम गरिएको थियो।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ ‘फास्टट्र्याक’ छोटो दूरीलगायत अन्य दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त सडक निर्माणका लागि सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा निर्माण कार्यले गति लिन नसकेको आयोजना कार्यालयले जनाएको छ।

सो सडक धनगढी–खुटिया–डोटीको बिपीनगर–केआइसिंह गाउँपालिका हुँदै दिपायलसँग जोडिनेछ। सो सडकखण्डअन्तर्गत दिपायलसम्म ट्र्याक खोल्ने काम पूरा भएर स्तरोन्नति भइरहेको आयोजना कार्यालयका इञ्जिनियर रैखोलाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *