रौतहटमा सबैभन्दा बढी ३५३ र पर्सामा २८८ मिलिमिटर वर्षा
काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी रौतहटमा ३५३ मिलिमिटर वर्षा भएको छ। विभागका सूचना अधिकारी दिनकर कायस्थले अहिले पनि सो क्षेत्रमा भारी वर्षा भइरहेको जानकारी दिए। उनका अनुसार पर्सामा २८८ मिलिमिटर वर्षा भएको छ। यो आज राति ८ः३० बजेको अध्यावधिक विवरण हो।
पछिल्लो २४ घण्टाको तथ्यंक विष्लेषण गर्दा रौतहट र त्यसआससापका जिल्लाहरुमा अन्य क्षेत्रको तुलनामा निक्कै भारी वर्षा भइरहेको हो। बारामा २१४, सिन्धुलीमा २२०, सर्लाहीमा २२३, मकवानपुरमा १६७ मिलिमिटर वर्षा भएको छ।
ललितपुरमा पनि भारी वर्षा भइरहेको छ। ललितपुरमा पछिल्लो २४ घण्टामा १५१ मिलिमिटर वर्षा भएको छ। काठमाडौंमा १३५ मिलिमिटर र भक्तपुरमा १११ मिलिमिटर वर्षा भएको छ। चितवनमा ११५ मिलिमिटर, महोत्तरीमा ११३ मिलिमिटर, धनुषामा ११२ मिलिमिटर, रामेछापमा १०० मिलिमिटर वर्षा भएको छ। ५० देखि १०० मिलिमिटरको बीचमा वर्षा हुने जिल्लाहरु भने दर्जनौँ रहेका छन्।
विभागको बाढी पूर्वानुमान महाशाखाले अहिलेसम्म ललितपुर खोकनामा बागमती, सिन्धुलीस्थित कमला नदी, मकवानपुरको लालबकैया नदीले खतराको तह पार गसिकेको जनाएको छ। रौतहट, बारा, पर्सा वर्षामापन केन्द्रहरुमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रले खतराको तह पार गरेपछि साइरन समेत बजाइएको छ। राति पनि भारी वर्षा जारी रहने भएकाले सावधानी अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।
अहिले वंगालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जनाउँदै विभागले आज साँझदेखि आउँदो २४ घण्टामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको र कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको अनुमान सार्वजनिक गरेको छ।







डिसी नेपाल








Facebook Comment