अविरल वर्षाले तीन दिनमा ४६ जनाको मृत्यु, ६ जना अझै बेपत्ता
काठमाडौं। देशभर जारी अविरल वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ। असोज १७ गतेदेखि १९ गतेसम्मको तीनदिने वर्षाका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज मध्यान्ह १२ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार, २४ जना घाइते भएका छन् भने १८ जनाको हेलीकोप्टरमार्फत उद्धार गरिएको छ।
प्रभावित क्षेत्रमा सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा देखिएको छ, जहाँ पहिरोका कारण ३७ जनाले ज्यान गुमाएका छन्।
रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने उदयपुरमा खोलाले बगाउँदा दुई जनाको ज्यान गएको छ। पाँचथर, खोटाङ, काभ्रे, मोरङ, रसुवा, भोजपुर, ललितपुर, मकवानपुर, ताप्लेजुङ र धनकुटाजस्ता जिल्लाहरूमा पनि विभिन्न कारणले मानवीय क्षति भएको छ।
विशेषगरी पहिरो, बाढी, चट्याङ र खोलाको बगावटले मानवीय क्षति पु¥याएको बताइएको छ। इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा परेर गर्भवती महिलासहित दुई जना फसेका थिए भने झापामा बाढी र डुबानमा परेका १६ जनाको हेलीकोप्टरमाफृत उद्धार गरिएको हो।
नेपाल सरकारको गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणले उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जनाएको छ। स्थानीय प्रशासन, सुरक्षाकर्मी र स्वयंसेवकहरूले राहत वितरण, उद्धार तथा पहिरो प्रभावित क्षेत्रमा सडक तथा संचार व्यवस्था पुनःस्थापनाका लागि काम गरिरहेका छन्।
सरकारले थप वर्षा हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सतर्कता अपनाउन आम जनतालाई आग्रह गरेको छ।







डिसी नेपाल








Facebook Comment