सरकार निर्वाचन गराउन केन्द्रित भएको छ: सञ्चारमन्त्री खरेल
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजीका जायज माग पूरा गर्दै शान्तिपूर्ण रूपमा निर्वाचन गर्नेतर्फ सरकार केन्द्रित भएको बताएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलको अग्रसरतमा प्रधानमन्त्री सुशीला कार्कीसहित आज भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘आजको छलफल निर्वाचन केन्द्रित भयो, सम्माननीय राष्ट्रपतिले फागुन २१ गते निर्वाचनको तयारी के–कसरी भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूलाई सोध्नुभयो। चुनाव तोकिएकै समयमा गर्नुपर्छ भन्ने उहाँको मत रहेको छ।’
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खरेलले सुरक्षाको प्रत्याभूति दिलाउने, निर्वाचन आयोगलाई उपलब्ध गराउने स्रोतसाधन र अन्य तयारीका विषयमा राष्ट्रपति र राजनीति दलहरूलाई सरकारले जानकारी गराएको बताए।
बैठकमा विभिन्न राजनीतिक दलको सहभागिता रहेको र ती दलहरू निर्वाचनमा जाने विषयमा कुनै द्विविधा नरहेको स्पष्ट पार्दै मन्त्री खरेलले भने, ‘राजनीतिक दलका प्रतिनिधिहरूले पनि चुनाव जानुपर्छ भन्ने विषयलाई आत्मसात गर्नुभएको छ। स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुनुपर्छ भन्ने उहाँहरूको भनाइ छ।’
उनका अनुसार बैठकमा केही राजनीतिक दलहरूले निर्वाचनमा जाने निर्णय गरिसकेको र केहीले छिट्टै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘चुनावको वातावरण बनेको छ,’ मन्त्री खरेलले भने, ‘निर्वाचन आयोग पनि कार्यतालिका बनाएर अगाडि बढेको छ। सुरक्षाकर्मी पनि उच्च मनोबलका साथ अगाडि बढेका छन्।’
राष्ट्रपति पौडेलले भोलि प्रधानमन्त्री कार्कीसहित जेनजीका प्रतिनिधिसँग पनि फागुन २१ गतेको निर्वाचनबारे छलफल गर्ने उनले जानकारी दिए।







डिसी नेपाल








Facebook Comment