लघुकथा : क्षतिपूर्ति

खेमराज पोखरेल
१ कार्तिक २०८२ ७:५०
16
Shares

छोरो अमेरिकाबाट आएको खुसी। काठले बारेको घर। पल्लो कोठा। चकमन्न रात।

‘छोरा बुहारीको कुरा कान थापेर सुन्ने हो ?’ बुढीलाई सम्झाए। बुढा भने कान थापेरै सुनिरहेका थिए। पल्लो कोठाको आवाज प्रस्टै बुझिन्थ्यो।

‘बिहे गर्दा मैले तिमीलाई भर्जिन ठानेको थिएँ’

‘तिम्रो ठनाइ पाएका थियौ’

‘तर तिमी अर्कोसँग सल्क्यौ’

‘तिमी पनि धेरैसँग सल्क्यौ’

‘तिमी मेरी श्रीमती हौ’

‘बुबाआमाले पाल्न नसकेर मेरो बिहे तिमीसँग गरिदिएका होइनन्। तिमी किन मलाई छोडेर दस वर्ष हरायौ ?’
‘भौतिक बाध्यता थियो’

‘के म तिमीसँग किनिएर आएकी भौतिक माल हुँ? पुरुष भएकैले तिमी जे पनि गर्ने। महिला भएकैले मेरो कुनै ‘स्व’ छैन ?’
‘तिमीलाई लोकजाजको ख्याल भएन ?’

‘म सीता होइन आफ्नो पवित्रताको लागि अग्निदाह गर्ने अनि परित्यक्त भएर तिमै्र नाममा भूगर्भ प्रवेश गर्ने। तिमीबिनाका मेरा उच्छ्वासहरूको मैले दमन गरेकी छैन’
‘मैले पैसा तिमीलाई पठाएँ। त्यसको कुनै मूल्य छैन ?’

‘पैसा पठायौ, खाईलाई बाँकी रहेको पैसा छ। त्यसको भौतिक मूल्य छ। तिमी भएको भए म आमा हुन्थेँ। सन्तान दस वर्षको हुन्थ्यो। तिमी आवेगहरूमा खुलेआम थियौ। मलाई अनावश्यक रूपले दुनियाँको आँखा छल्नु पर्‍यो। कम कष्ट भयो होला त ?’

‘तिमी अपवित्र भयौ’

‘मलाई किन पवित्रताको कसीमा जोख्न चाहन्छौ ? यी लोग्नेमान्छेहरू किन ‘भर्जिन’ र पवित्रताको वाहियात चाहना राख्छन् ? किन स्वास्नी मानिसहरूले सधैँ ‘भर्जिन’ र पवित्रताको प्रमाण पत्र ‘रिन्यु’ गरिरहनु पर्ने ?’

‘किनभने यो सामाजिक चलन हो’

‘तिमीले खोजेको पवित्रता ढ्वाङ हो। तिमीले भोगेका महिलाहरू पनि आफ्ना श्रीमान् समक्ष ढाँट्छन् र पवित्रताको अभिनय गर्छन्।’
‘अब के गर्ने ?’

‘उच्छवासहरूमा तिमी बहकियौ, म बहकिएँ। त्यो जैविक आवश्यकता थियो। तिमी सोच म भर्जिन छु, म सोच्छु तिमी भर्जिन छौ। हामी क्षमा र विश्वासको जीवन सुरु गरौँ वा नदीको भँगाला भएर आआफ्नो बाटो लागौँ। तर मेरो बैँसको क्षतिपूर्ति खोइ ?’

त्यसपछिको आवाज मधुरो भयो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.