छठ लगत्तै मुख्यमन्त्री सोनलले विश्वासको मत लिने तयारीमा

डिसी नेपाल
७ कार्तिक २०८२ १८:१५
36
Shares

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने तयारीमा जुटेका छन्।

मधेस प्रदेशको सत्ता गठबन्धनमा रहेका दलहरू बिच रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार भएको छलफलमा छठ पर्व सकिएलगत्तै प्रदेशसभाबाट विश्वासको मत लिने तय भएको हो।

जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा र नेकपा (एकीकृत समाजवादी) लगायतका दलका नेतासंग विश्वासको मत र मधेश प्रदेश सरकार विस्तार लगायतका विषयमा छलफल भएको नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता युवराज भट्टराई (समिर) ले बताए।

उनका अनुसार चाडपर्वका कारण मुख्यमन्त्री सोनललाई तत्काल विश्वासको मत लिने अवस्था नरहेको हो। हाल विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि धकेलिएको भए पनि, बाहिर हल्ला भएजस्तो सरकार विश्वासको मत लिन असमर्थ हुने अवस्था भने नरहेको उनको जिकिर छ। उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा सरकार गठन गरेका हुन्। नेपालको संविधानअनुसार, मुख्यमन्त्रीले नियुक्तिपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ।मधेश प्रदेशसभामा कुल १०७ सदस्य छन् र सरकार बनाउन ५४ मत आवश्यक पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.