रामेछापको मन्थलीबाट काँकडभिट्टा जाँदै गरेको रात्रि बस झापामा दुर्घटना, १९ जना घाइते

डिसी नेपाल
११ कार्तिक २०८२ १०:४१
32
Shares

रामेछाप। रामेछापको मन्थलीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बस झापाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

अस्थायी प्रहरी चौकी माईधारका अनुसार प्र.१-०१-००१ क ४२०९ नम्बरको बस मंगलबार बिहान करिब ४ बजे अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा दुर्घटना भएको हो।

बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने बाँकी ६ जना यात्रु सकुशल भएकाले आफ्नो गन्तव्यतर्फ गएका छन्। घाइतेहरूलाई प्रारम्भिक उपचारपछि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस चालक झापा मेचिनगर नगरपालिका-६ का ३९ वर्षीय राजु भुजेल टाउकोमा चोट लागेको छ। अन्य घाइतेहरूमा रामेछाप मन्थली नगरपालिका–१० का ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा गाउँपालिका-३ की १७ वर्षीया इक्षा लिम्बु, मन्थली-९ का ३५ वर्षीय भीमप्रसाद पुरी, कचनकवल-४ का २० वर्षीय रविलाल गनेस, ठाडादेवी-३ की ६५ वर्षीया मिटु खत्री, कचनकवल-४ की २१ वर्षीया परिना गनेस छन्।

त्यसैगरी बिर्तामोड-१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका नौ वर्षीय छोरा एलोन कार्की, दोलखाको बैनेश्वर-३ का ३० वर्षीय प्रदीपबहादुर बस्नेत, रामेछाप देउरालीका ८ वर्षीय अनु श्रेष्ठ, दोलखा तामाकोशी-३ की २८ वर्षीया कुमार बस्याल, कचनकवल-६ की २७ वर्षीया भेमा राजवंशी, बिर्तामोड-५ का ३५ वर्षीय रामकुमार श्रेष्ठ र उनका छोरा नौ वर्षीय रिदम श्रेष्ठ, बिर्तामोड-५ का २३ वर्षीय पूर्णबहादुर नेपाली, १८ वर्षीया सितल नेपाली, बाह्रदशी-५ का २१ वर्षीय अविषेक राजवंशी र झापा गाउँपालिका-२ का १८ वर्षीय श्यामलाल किस्कु पनि घाइते छन्।

दुर्घटनापछि सडक अवरुद्ध नभएको र बस हाल घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.