बेमौसमी वर्षाले कोशी प्रदेशको जनजीवन प्रभावित, किसान मारमा

डिसी नेपाल
१४ कार्तिक २०८२ ११:४३
36
Shares

विराटनगर। मोन्था चक्रवातको प्रभावले परेको बेमौसमी अविरल वर्षाले कोशी प्रदेशसहित पूर्वी नेपालभर जनजीवन अस्तव्यस्त बनाएको छ। असामान्य वर्षाका कारण किसानको भर्खर थन्काउने बेला पुगेको धानवाली र तोरीबालीमा ठूलो क्षति पुर्‍याएको हो।

तराईदेखि हिमालसम्मको क्षेत्र प्रभावित हुँदा प्रदेशका सडक, विद्यालय र बाली सबै क्षेत्रमा क्षति पुगेको छ। सुनसरी, मोरङ, झापा, उदयपुर सहित विभिन्न स्थानमा पानीले धानबाली डुबाएको किसानहरूले बताएका छन्।

रामधुनीकी निर्मला लुईटेल भन्छिन्, ‘वर्षाले भर्खरै लगाएको तोरीदेखि धान सबै डुबायो।’

वर्षाको असरले प्रदेशका कतिपय स्थानीय तहहरूले विद्यालय बन्द गर्नुपरेको छ। इटहरी उपमहानगरपालिकाले सुरक्षा र यातायात जोखिमलाई मध्यनजर गर्दै विद्यालय अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो।

तराईका अधिकांश भूभाग जलमग्न बनेका छन् भने नदीनालामा पानीको बहाव तीव्र बनेको छ। मेची राजमार्गसहितका कतिपय सडक खण्डमा पहिरोका कारण आवागमन अवरुद्ध भएको छ।उत्तरी पहाडी क्षेत्रमा भने अत्यधिक हिमपातका कारण जनजीवन कठिन बनिरहेको छ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले डिजिटल म्यापअनुसार प्रभावित क्षेत्र पहिचान गरी सुरक्षाकर्मीमार्फत उद्धार र राहतका काम अघि बढाइएको जानकारी दिए।

उनका अनुसार स्थानीय सरकारमार्फत तत्कालीन राहत र उद्धारको कार्य सुरु भइसकेको छ। वर्षा भोलीसम्मै जारी रहने अनुमान मौसमविद्हरूले गरेका छन्, जसले किसानको चिन्ता झन् बढाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *