नेपालको संविधान जेनजी विरोधी छ : स्वागत नेपाल
काठमाडौं । स्वतन्त्र राजावादी अधिवक्ता स्वागत नेपालले अहिलेको संविधान जेनजी विरोधी रहेको बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यो संविधानमा रहेर जेनजीलाई चुनावमा उठ्न रोकेको र राष्ट्रिय सभा, संवैधानिक आयोगलगायतमा जेन–जीको प्रतिनिधित्व अस्वीकार गरिएको भन्दै अहिलेको संविधान जेनजी विरोधी रहेको बताए।
वर्तमान संविधानले नेपाली नागरिकहरुलाई मिलिजुली शोषण गर्ने काम गरेको उनको दाबी छ।
उनले भने, ‘अहिलेको संविधान जेनजी विरोधी संविधान हो। अहिलेको संविधान जेनजीलाई सांसद हुनै दिन हुँदैन भनेर लेखिएको संविधान हो। अब राष्ट्रिय सभाको चुनाव हुँदैछ। त्यो राष्ट्रिय सभाको चुनावमा एउटा पनि जेनजी उठ्न पाउँदैन भनेर लेखिएको छ। यस्तो संविधान जलाउने कि नजलाउने? यस्तो संविधानलाई च्यात्ने कि नच्यात्ने?’
उनले २०६३ मा ८३ जना माओवादीलाई संसदमा चुनाव नगराइ ल्याएको बताउँदै उनले अब ८० प्रतिशत जेन–जी युवाले स्वामित्व पाउनुपर्ने बताए।
उनले भने, ‘हामी २०६३ मा माओवादीलाई सिधै जंगलबाट सांसद बनाएर ल्याएजस्तो ८० प्रतिशत जेनजी सांसद बनाउन चाहन्छौं। कुनै चुनाव हुनेवाला छैन। चुनावबा ८३ जना माओवादी सांसद बनेर आएका थिएनन्। त्यही मौकामा कांग्रेस र एमालेले पनि सांसदहरु थपेका थिए। सिकाउँछौ जेन–जीलाई ? कसरी स्थापित गर्नुपर्छ, चुनावबाट कि आन्दोलनबाट ? आन्दोलनबाट, कुनै चुनावबाट होइन।’
उनले राजसंस्था पुनस्थापना गर्न चाहनेहरु पनि एकतावद्ध हुनुपर्ने आवश्यकता औंल्याए। साथै, अहिले कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कतिपय नेताहरुले राजसंस्था चाहिनेरहेछ भनिरहेको पनि उनले बताए।
उनले भने, ‘अहिले कांग्रेसका माननीयज्यूहरु, एमालेका माननीयज्यूहरु, रास्वपाका माननीयज्यूहरु अब राजसंस्था चाहिने रहेछ भनेर एकतावद्ध हुन थाल्नुभएको छ। मैले अघिल्लो हप्ता पनि धेरै माननीयज्यूहरुलाई भेटिसकेको छु। एकै ठाउँमा आउने प्रयास भइरहेको छ। उहाँहरु एकतावद्ध हुँदै हुनुहुन्छ। साँच्चैको नेपाली कांग्रेस सधैं राजसंस्थावादी छ। किनकी विपीले राजा भएन भने देश हुँदैन भन्नुहुन्थ्यो। त्यो साँच्चैको नेपाली कांग्रेस भनेको डा.सुनिल शर्मा, शंकर भण्डारी हो।’
No ads found for this position



डिसी नेपाल
Facebook Comment