कांग्रेसमा ३० वर्षमुनीका युवाको प्रतिनिधित्व गराउन शिवाकोटीको माग
काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनीका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले जेनजी लक्षित कार्यक्रम तत्काल ल्याउन आग्रह गरेका हुन्।
उनले भने, ‘हामीले नजरअन्दाज गरेको पुस्ता हाम्रै छोराछोरी हुन्, तर उनीहरू किन हाम्रो सट्टा अरूको कुरा पत्याइरहेका छन् भन्ने आत्ममन्थन गर्न जरुरी छ।’
शिवाकोटीले जेनजी पुस्ताको असन्तुष्टि पार्टीले गम्भीरतापूर्वक नलिएको भन्दै सचेत गराए। उनले नयाँ पुस्ताको आवाज सुन्ने, प्रतिनिधित्व सुनिश्चित गर्ने र व्यवहारिक कार्यक्रम ल्याउने कांग्रेसको अहिलेको उच्च प्राथमिकताको विषय हुनुपर्ने बताए।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई देशको राजनीतिक चेतका रूपमा व्याख्या गर्दै भने, ‘हामीले नागरिकको आक्रोश बुझ्ने सट्टा अझै पनि गुटगत स्वार्थमा अल्झिरहेका छौँ। समय बलवान हुन्छ, समयको संकेत नबुझे कांग्रेस थप संकटमा पर्न सक्छ।’
शिवाकोटीले सभापति शेरबहादुर देउवा र आरजु राणा देउवामाथि भएको आक्रमणको निन्दा गर्दै स्वास्थ्यलाभको कामना गरे। साथै, पार्टीमा निर्णय प्रक्रिया लोकतान्त्रिक बनाउने, कार्यकर्ताको आवाज सुन्ने र विशेष महाधिवेशनको माग सम्बोधन गर्न सुझाव दिए।
उनले भने, ‘५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका छन्, त्यसलाई नजरअन्दाज गर्नु विधान विपरीत हुन्छ।’
शिवाकोटीले नयाँ पुस्ता लक्षित ‘कांग्रेस संवाद अभियान’ ल्याउन र पार्टीको सांगठनिक ढाँचामा ३० वर्षमुनीका युवाको कम्तीमा १५ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरे।







डिसी नेपाल








Facebook Comment