बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकताः अर्थमन्त्री खनाल

डिसी नेपाल
२८ कार्तिक २०८२ १९:१६

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रको चरित्र क्रमशः परिवर्तन भइरहेका भए पनि बजारमुखी उदार आर्थिक प्रणालीलाई नै अवलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

नेपाल राष्ट्र बैंकले आज यहाँ आयोजना गरेको ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उनको योगदान’ विषयक विचारगोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालका लागि दीर्घकालीन चुनौती बनेको उल्लेख गरे।

उनका अनुसार विभिन्न कालखण्डमा आन्तरिकबाह्य, राजनीतिक तथा प्राकृतिक कारणहरूले आर्थिक क्षेत्रमा दबाब सृजना गर्दै आएको छ। उनले भने, अर्थतन्त्रको चरित्र बदलिँदै गएको छ। औद्योगिक क्षेत्रको योगदान घट्दो रहेकाले सेवा क्षेत्र र अन्य उत्पादनशील क्षेत्र तीव्रगतिले अगाडि बढिरहेका छन्। तर हामीले बजारको स्वतन्त्रता कुण्ठित नगरीकनै अर्थतन्त्रलाई अघि बढाउनु अहिलेको आवश्यकता हो।

अर्थमन्त्री खनालले अर्थतन्त्र निराशाजनक अवस्थामा नभएको दाबी गर्दै हाल करिब आठ प्रतिशत कर्जा प्रवाहले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो नीतिगत सामञ्जस्य रहेको उल्लेख गर्दै उनले आर्थिक नीति तथा राजनीतिक व्यवस्थाले समयसमयमा बाटो बिराउने गरेको पनि टिप्पणी गरे।

डा यादवप्रसाद पन्तको स्मरण गर्दै उनले पन्तले आन्तरिक अर्थतन्त्रलाई अन्तरराष्ट्रिय संयन्त्रसँग जोड्ने तथा कृषिक्षेत्रलाई उद्योगसँग समन्वय गराउने कार्यमा ऐतिहासिक भूमिका खेलेको बताए।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले विसं २०२० को दशक र वर्तमान आर्थिक अवस्थाबीच उल्लेख्य समानता रहेको बताए। उनका अनुसार कृषिक्षेत्रमा कर्जाको प्रभावकारिता अहिलेजस्तै त्यसबेला पनि कमजोर थियो।

पाँचौँ योजना कार्यान्वयनका समयमा देखिएको कृषि वृद्धिदर सुस्तता, सार्वजनिक संस्थानको उच्च दायित्व, बजेटको आकारभन्दा ठूलो व्यापारघाटा तथा बैंकिङ क्षेत्रको कमजोर विस्तारजस्ता चुनौतीहरू आज पनि समान रूपमा देखिएको गभर्नर पौडेलले स्मरण गरे। गभर्नर पौडेलले राजनीतिक परिवर्तन रातारात हुनसक्ने तर आर्थिक सुधार र रूपान्तरणलाई समय लाग्नेसमेत टिप्पणी गरे।

नेपाल सरकारका पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर स्वर्गीय डा पन्तको एक सयौं जन्मजयन्तीका अवसरमा यो विचारगोष्ठी आयोजना गरिएको हो।

विसं २०२५ वैशाखमा नेपाल राष्ट्र बैंकको पाँचौँ गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्नुभएका डा यादवकै कार्यकालमा पाँच सय र एक हजार दरका बैंक नोट प्रचलनमा आएका थिए। त्यस्तै राष्ट्र बैंकमा डेपुटी गभर्नर राख्ने र समावेशी वित्तीय पहुँचको योजना बनाई कार्यान्वयनमा लैजाने श्रेय डा पन्तलाई जान्छ।

कार्यक्रममा पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, कार्यक्रममा पूर्वगभर्नर गणेशबहादुर थापा, दीपेन्द्रपुरुष ढकाल, दीपेन्द्रबहादुर क्षेत्री, डा तिलक रावल र पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, डा रुप ज्योति, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले डा पन्तले नेपालको समग्र आर्थिक क्षेत्रको योगदानको स्मरण गरेका थिए।

पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले डा पन्तलाई कुशल अर्थशास्त्री, योजनाविद्, कुटनीतिज्ञ र बहुआयामिक व्यक्तित्व भएका व्यक्तिका रूपमा स्मर गरे। अहिले मुलुकको अर्थतन्त्र आयातमुखी, रेमिट्यान्स आप्रवाह र उपभोगमा आधारित बन्दै गएको उल्लेख गर्नुहुँदै उहाँले उत्पादनसँग जोड्न नसक्दा विकासको गति सुस्त हुँदै गएको बताए।

त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि न्यून ब्याजदरले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको पनि डा लोहनीको टिप्पणी छ। राजनीतिक अस्थिरता कमजोर आर्थिक विकासको मुख्य बाधक रहेको पनि उनको भनाइ छ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक दबाबमा सरकारी बजेटमा हुने चलखेललाई अर्थमन्त्रीले रोक्न सक्नुपर्ने ज्ञान आफूले डा पन्तसँग सिकेको उल्लेख गर्नुभयो। अर्थमन्त्रीले राजनीतिक दबाबमा भन्दा पनि आर्थिक क्षेत्रलाई हेरेर काम गर्नुपर्ने उहाँको भनाइ थियो।

पूर्वअर्थमन्त्री डा रुप ज्योतिले अहिलेको सन्दर्भमा उद्यमशीलता प्रवर्द्धनमा जोड दिने र सुनको बजारलाई सहज बनाउनुपर्ने बताउनुभयो। त्यस्तै अहिले राजनीतिक नेताहरुमा नियन्त्रणमुखी विचार हाबी हुँदै गएको उनको भनाइ थियो।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले दिगो विकास स्थायित्व र लगानीयोग्य वातावरण चाहिएको बताए। अब राजनीतिक परिवर्तनभन्दा पनि आर्थिक समृद्धि, रुपान्तरण र परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले आउने पुस्ता समृद्ध पुस्ता बनोस् भन्ने कामना गरे।

प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले डा पन्त एक कुशल अध्यापक, योजनाकार, लेखक र समाजसेवीसमेत रहेको बताए। नेपालको अर्थशास्त्र, योजना, नेपालको आर्थिक कूटनीतिलगायत विषयमा डा पन्तका करिब दुई दर्जन हाराहारी पुस्तक प्रकाशित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *