प्रधानमन्त्री र परिवार दलका प्रतिनिधिबीच छलफल, चुनावको वातावरण बनाउन आग्रह

डिसी नेपाल
१२ मंसिर २०८२ २०:१०
184
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने बताएकी छन्।

नेपाल परिवार दलको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्ताका क्रममा उनले चुनावमा हुने अनावश्यक खर्च र अनुचित तवरले मतदाता प्रभावित पार्ने प्रवृत्ति रोक्नुपर्ने बताएकी हुन्।

‘तपाईँहरु चुनावको तयारीमा जुट्नुभएको छ। यो खुसीको कुरा हो। सँगसँगै यो चुनाव विगतभन्दा फरक हुनुपर्छ। कम खर्चमा हुनुपर्छ। प्रचारप्रसारमा तडकभडक हुनुहुँदैन। उम्मेदवारको पैसा खर्च नहुने गरी प्रचारको शैली परिवर्तन गर्नुपर्छ। अनि सदनमा पनि राम्रा मान्छे पुग्छन्। तपाईँहरु पनि सदनमा असल मान्छे पठाउनुहोस्। सदनमा राम्रा मान्छे पुग्नुपर्छ,’ उनले भनिन्।

प्रतिनिधिमण्डलका तर्फबाट परिवार दलका अध्यक्ष एकनाथ ढकालले यो सरकार गठन भएपछि तत्कालै आफ्नो पार्टीले स्वागत गरेको र गुण दोषका आधारमा आलोचना वा समर्थन गर्ने बताए। उनले निर्वाचन प्रयोजनका लागि आफूले दल दर्ता गरिसकेको पनि जानकारी गराउँदै निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीले गरिरहेको प्रयास प्रसंशनीय रहेको बताए।

‘यहाँले जुन परिस्थितिमा जिम्मेवारी लिनुभयो, त्यो स्वागतयोग्य छ। हामीले दलका तर्फबाट तत्कालै स्वागत गर्ने निर्णय पनि गरेका थियौँ। अहिले निर्वाचनको वातारण बनाउन खटिइरहनुपर्छ। सबै दल पनि अब निर्वाचनकै तयारीमा जुट्नुपर्छ। हामी यसैका निम्ति लागिरहेका छौँ। निर्वाचनको वातावरण बनाउनका लागि प्रमुख दलको नेतृत्वसँग पनि संवाद गर्नुहोस् भन्ने हाम्रो सुझाव छ,’ अध्यक्ष ढकालले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.