ओलीलाई अध्यक्ष स्वीकार गरेर जान एमालेमा कसैलाई पनि समस्या छैनः विष्णु रिजाल
काठमाडौं। नेकपा (एमाले) का नेता विष्णु रिजालले पार्टीको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जान कसैलाई पनि समस्या नरहेको बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा हुने एमालेको ११औं महाधिवेशनमा सर्वसम्मत ढंगले अध्यक्ष बनाउने पहिलो कोशिश हुने उनले बताए ।
‘केपी शर्मा ओलीलाई अध्यक्ष स्वीकार गरेर जानका लागि हाम्रो पार्टीमा कसैलाई पनि समस्या छैन । हाम्रो पहिलो कोशिश केपी शर्मा ओलीलाई एमालेको अध्यक्षमा पुनर्निर्वाचित गर्ने र सबै नेताहरुलाई समेटेर एकतावद्ध ढंगले एमालेलाई अगाडि बढाउने नै रहने छ,’– उनले भने ।
उनले ओली पार्टीको ११औं महाधिवेशनबाट पनि निरन्तर नेतृत्वको लागि गृहकार्यमा अगाडि बढिरहेको बताए । देशभरबाट आएका प्रतिनिधिहरुले पनि ११औं महाधिवेशनले पनि एमालेको नेतृत्व ओलीलाई नै दिनुपर्छ भनेर प्रस्ताव गरिरहेको उनको दाबी छ ।
पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि नेतृत्वको लागि प्रतिस्पर्धा गर्ने भनिरहेको स्मरण गराउँदै उनले सर्वसम्मतबाट नेतृत्व चयन हुन नसकेको खण्डमा स्वच्छ प्रतिस्पर्धा हुने बताए । ‘हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि नेतृत्वका लागि प्रतिस्पर्धामा उत्रिने घोषणा गर्नुभएको छ । एमाले लोकतन्त्रमा विश्वास गर्ने, जनताको बहुदलीय जनवादको अनुयायी र जनवादी केन्द्रीयताको फलोअर भएको हुनाले हामीले पूर्ण रुपमा लोकतान्त्रिक पद्धतीबाट नेतृत्व चयन गर्दैछौं,’– उनले भने ।







डिसी नेपाल








Facebook Comment