नेपाल टेलिकमद्वारा एनटीटिभीका लागि ‘भर्चुअल सेट-टप बक्स’ सेवा सुरु, नयाँ ग्राहकलाई एक हजार छुट
काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको टेलिभिजन सेवा ‘एनटीटिभी’ का स्मार्ट टिभी प्रयोगकर्ताहरूका लागि सेट-टप बक्सबिनै सेवा प्रयोग गर्न सकिने गरी ‘भर्चुअल सेट-टप बक्स’ उपलब्ध गराएको छ। कम्पनीले असोज १५ गते (बिहीबार) देखि हालका लागि एन्ड्रोइड टिभीका प्रयोगकर्ताहरूलाई लक्षित गर्दै यो नयाँ प्रविधि सञ्चालनमा ल्याएको हो।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकहरूले आफ्नो एन्ड्रोइडमा आधारित स्मार्ट टिभीको गुगल प्लेस्टोरमा गएर ‘स्मार्ट एनटीटिभी’ सर्च गरी इन्स्टल गरेर सजिलैसँग यो भर्चुअल सेट-टप बक्स प्रयोग गर्न सक्नेछन्।
निकट भविष्यमै सबै प्रकारका स्मार्ट टिभीहरूमा प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेट-टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको र यो सेवालाई थप ग्राहकद्वैत्री हुने गरी विकास गरिएको कम्पनीले जनाएको छ।
टेलिकमले नयाँ प्याकेज लिने ग्राहकका लागि विशेष सुविधाको व्यवस्थासमेत गरेको छ। भर्चुअल सेट-टप बक्ससहितको नयाँ प्याकेज खरिद गर्ने ग्राहकलाई एक हजार रुपैयाँ छुट उपलब्ध गराइने व्यवस्था मिलाइएको छ।
नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा एकीकृत रूपमा प्रदान गर्दै आएको छ। भर्चुअल सेट-टप बक्ससहितको टेलिभिजन प्रयोगका लागि कम्पनीले विभिन्न विकल्प र प्याकेजहरू उपलब्ध गराएको छ, जसअन्तर्गत वार्षिक तथा दुई वर्षको प्याकेज लिने ग्राहकका लागि मोबाइल डाटाको सेवासमेत समावेश गरिएको छ। यस सेवासम्बन्धी विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने प्रवक्ता लामिछानेले जानकारी दिएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment