उबरद्वारा ५० लाखको ‘राइड फर नेपाल’ अभियान सुरु: बाढीपीडितको राहतमा हरेक यात्राको योगदान
काठमाडौं विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्जागरण प्रयासमा सघाउने उद्देश्यका साथ प्रसिद्ध राइड-सेयरिङ प्लेटफर्म उबरले ‘राइड फर नेपाल’ नामक विशेष सामाजिक अभियानको घोषणा गरेको छ। अभियानअन्तर्गत कम्पनीले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
उबरले बाढीबाट बढी प्रभावित क्षेत्रहरूमा तत्काल आपत्कालीन राहत, अस्थायी आवास, खाद्यान्न, स्वास्थ्य तथा सरसफाइ सामाग्री र पुनर्स्थापनाका कार्य सञ्चालन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सोझै उपलब्ध गराउनेछ।
यसका साथै भदौ तथा असोजको अविरल वर्षा र भोटेकोशीसहित देशका विभिन्न भागमा आएको बाढीपीडितको सहयोगका लागि सञ्चालित यस अभियानमा आम उपभोक्तालाई पनि जोड्न ‘जति धेरै राइड, त्यति धेरै सहयोग’ को अवधारणा ल्याइएको छ। यसअन्तर्गत उबरको हरेक बाइक राइडबाट १० रुपैयाँ र हरेक कार/क्याब राइडबाट २० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
यस योगदानका कारण यात्रुले तिर्ने भाडामा कुनै अतिरिक्त शुल्क थपिने छैन भने चालकको आम्दानीबाट पनि कुनै कटौती हुने छैन। यो रकम पूर्णतः उबर कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वयं व्यहोर्नेछ। यो अभियान अक्टोबर २०, २०२६ सम्म एक महिनाका लागि सञ्चालनमा रहनेछ।
उबर इन्डिया तथा दक्षिण एसियाकी अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहका अनुसार प्राकृतिक विपत्तिका बेला स्थानीय समुदाय र डिजिटल प्लेटफर्महरूबीचको सहकार्यले राहत वितरणलाई तीव्र र प्रभावकारी बनाउँछ।
संकलित सहयोग रकमबाट खानेपानी शुद्धीकरण चक्की, औषधी, स्वास्थ्य किट तथा विस्थापित परिवारहरूलाई पुनर्स्थापना गर्न प्रत्यक्ष सहयोग पुग्नेछ। कम्पनीले आफ्ना चालक साझेदार तथा यात्रुहरूलाई यस अवधिमा दैनिक यात्राका लागि नियमित रूपमा राइड बुक गरी विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा अप्रत्यक्ष योगदान पुर्याउन आह्वान गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment