जिम्बाब्वेमा हेलिकप्टर दुर्घटना, सबैको मृत्यु भएको अनुमान
काठमाडौं । जिम्बाब्वेमा बुधबार एक दर्दनाक दुर्घटना भएको छ। राजधानी हरारेको दक्षिण-पूर्वमा पर्ने मारोन्देरा जिल्लाको ग्रामीण क्षेत्रमा ६ जना सवार एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। अधिकारीहरूका अनुसार हेलिकप्टरमा सवार कोही पनि जीवित बाँचेको सङ्केत छैन।
स्थानीय मिडियाका अनुसार मारिनेहरूमा देशका चर्चित व्यवसायी विकनेल चिवायो र उनकी श्रीमती लुसी मुटेके पनि रहेका छन्। दुर्घटना यति भीषण थियो कि हेलिकप्टरमा लागेको आगोका कारण मानिसहरूको पहिचान गर्नसमेत मुस्किल परेको छ।
प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शवहरूको पहिचान गर्ने प्रयास सुरु गरेका छन्। प्रहरीका अनुसार हेलिकप्टरमा कुल छ जना सवार थिए, जसमा चार जना यात्रु र दुई जना क्रु मेम्बर समावेश थिए। सरकारका प्रवक्ता निक मङ्गवानाले सोसल मिडियामा यस दुर्घटनामा कोही पनि जीवित नबाँचेको जानकारी दिएका छन्। प्रहरी प्रवक्ता पल न्याथीले हेलिकप्टरमा आगो लागेका कारण सवार मानिसहरू जलेको र उनीहरूको पहिचान गर्ने प्रयास जारी रहेको बताएका छन्।
यस दुर्घटनामा ज्यान गुमाएका ४३ वर्षीय विकनेल चिवायो जिम्बाब्वेका चर्चित व्यवसायी थिए र राष्ट्रपति इमर्सन मनाङ्गाग्वा का निकटवर्तीहरूमा गनिन्थे। चिवायो सोसल मिडियामा निकै सक्रिय रहने गर्दथे।
उनी दक्षिण अफ्रिकाका सिरिल रामाफोसा, केन्याका विलियम रुटो, तन्जानियाकी सामिया सुलहु हसन र एस्वातिनीका राजा मस्वाती जस्ता क्षेत्रीय नेताहरूसँगका प्राइभेट डिनर र भेटघाटका तस्बिरहरू तथा पोस्टहरू सेयर गर्ने गर्दथे।
हाल अधिकारीहरू दुर्घटनामा मारिएका सबै मानिसहरूको पहिचान र घटनासँग जोडिएका बाँकी जानकारी सङ्कलन गर्न जुटिरहेका छन्। यद्यपि अहिलेसम्म दुर्घटनाको कारण भने स्पष्ट हुन सकेको छैन। यस दर्दनाक दुर्घटनाले कैयौँ परिवारलाई स्तब्ध बनाएको छ।
यसका साथै प्रसिद्ध व्यवसायी विकनेल चिवायो र उनकी श्रीमतीको निधनले कैयौँ प्रश्नहरू छाडेको छ। हाल अधिकारीहरू यस दुर्घटनापछाडिको कारण पत्ता लगाउन अनुसन्धानमा जुटेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment