‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै सरकार
काठमाडौँ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप, अनुभव तथा जीवनका सिकाइलाई संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ।
छत्तिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई केवल हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा मात्र नभई राष्ट्रका ज्ञान, सीप र अनुभवका महत्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने अवधारणा अघि सारेको हो। ज्येष्ठ नागरिकको जीवनभरको अनुभवलाई अभिलेखीकरण गरी भावी पुस्तासँग जोड्ने उद्देश्यले डिजिटल प्रविधिको समेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पत्ति भएको बताएकी छन्।
उनले ज्येष्ठ नागरिकका अनुभवको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत गर्न ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको जानकारी दिइन्। उनका अनुसार यस पहलले एक पुस्ताले लामो समय लगाएर आर्जन गरेको ज्ञान र अनुभवलाई अर्को पुस्ताका लागि मार्गदर्शनका रूपमा प्रयोग गर्ने वातावरण तयार गर्नेछ।
मन्त्रालयले अघि बढाएको अवधारणाअनुसार ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा कृषि, उद्यम, शिक्षा, प्रशासन, पेसा, कला–संस्कृति, परम्परागत ज्ञान, सामाजिक जीवन तथा विभिन्न व्यावहारिक क्षेत्रमा हासिल गरेका अनुभवलाई डिजिटल माध्यमबाट सुरक्षित गरिनेछ। त्यसरी सङ्कलन गरिएको ज्ञान र अनुभवलाई व्यवस्थित रूपमा नयाँ पुस्तासँग जोड्ने योजना मन्त्रालयको छ।
अनुभव बैंकको मुख्य उद्देश्य अन्तरपुस्ता ज्ञान हस्तान्तरणलाई बलियो बनाउनु रहेको मन्त्रालयले जनाएको छ। दशकौँको अभ्यास र जीवनयात्राबाट प्राप्त ज्ञान ज्येष्ठ नागरिकसँगै हराएर जान नदिई त्यसलाई सुरक्षित गरेर विद्यार्थी, युवा तथा नयाँ पुस्ताका लागि उपयोगी बनाउने सोच अघि सारिएको हो।
मन्त्रालयका अनुसार अनुभव बैंकलाई क्रमशः विकास गर्दै नयाँ पुस्ताले ज्येष्ठ नागरिकका ज्ञान, सीप, अनुभव र जीवनका सिकाइबाट निःशुल्क रूपमा सिक्न तथा आवश्यक मार्गदर्शन लिन सक्ने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसले समाजमा रहेको व्यावहारिक तथा परम्परागत ज्ञानलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री बादीले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा तथा सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र हेर्न नहुने बताएकी छन्। उनीहरूलाई ज्ञान दिने, सीप बाँड्ने, अनुभव हस्तान्तरण गर्ने र नयाँ पुस्तालाई मार्गदर्शन गर्ने ज्ञानदाताका रूपमा स्थापित गर्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार ज्येष्ठ नागरिकको वास्तविक सम्मान उनीहरूको अनुभव सुन्ने, ज्ञानलाई सम्मानपूर्वक उपयोग गर्ने तथा सामाजिक र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको वातावरण निर्माण गर्ने क्रममा स्थापित हुन्छ।
मन्त्री बादीले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, तीव्र सहरीकरण र जीवनशैलीमा आएको परिवर्तनसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन तथा सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती थपिँदै गएको बताएकी छन्।
ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको उनको भनाइ छ। ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ को अवधारणाले उनीहरूको ज्ञान र अनुभवलाई संरक्षण गर्दै नयाँ पुस्ताका लागि उपयोगी बनाउने तथा ज्येष्ठ नागरिकको सामाजिक भूमिकालाई थप अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment