‘म पनि एक्स्ट्रा अर्डिनरी बन्ने प्रयासमा छु’ : रास्वपा महामन्त्री आचार्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले आफू ‘एक्स्ट्रा अर्डिनरी’ बन्न प्रयास गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै आचार्यले आफू औसत क्षमताको इन्जिनियर भए पनि विभिन्न क्षेत्रमा क्षमता, नियत र तथ्यका हिसाबले अब्बल व्यक्तिहरू आफूलाई ‘एक्स्ट्रा अर्डिनरी’ लाग्ने बताएका हुन्।
उनले भने, ‘म औसत क्षमताको इन्जिनियर भएर होला, मलाई हरेक विधाका क्षमता, नियत र तथ्यमा अब्बल व्यक्तिहरू एक्स्ट्रा अर्डिनरी लाग्छ। म आफैँ पनि एक्स्ट्रा अर्डिनरी बन्न कोसिस गर्दैछु।’
आचार्यले आफ्नो सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको नाम भने लिएनन्। तर, उनको यो अभिव्यक्ति प्रधानमन्त्री शाहले बुधबार इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग गरेको छलफलसँग जोडिएको देखिन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त छलफलमा १७ जना सांसद सहभागी थिए। नेपाली कांग्रेसका तर्फबाट रसुवाका सांसद मोहन आचार्य सहभागी थिए भने अन्य सहभागी अधिकांश रास्वपाका सांसद थिए।
छलफलका क्रममा सांसदहरूले आफ्ना धारणा राखेपछि प्रधानमन्त्री शाहले सम्बोधन गरेका थिए। त्यसक्रममा उनले सांसदहरूले उठाउने विषय र उनीहरूको अभिव्यक्तिको शैलीका आधारमा सांसदहरूलाई तीन प्रकारमा वर्गीकरण गर्दै ‘एभरेज’, ‘एभरेजभन्दा तल’ र ‘एक्स्ट्रा अर्डिनरी’को चर्चा गरेका थिए।
इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई प्रधानमन्त्री शाहले ‘एक्स्ट्रा अर्डिनरी’ सांसदका रूपमा प्रस्तुत गरेका थिए। इन्जिनियरहरूले कार्यक्रम वा सामान्य विषयभन्दा माथि उठेर देश निर्माणका लागि नयाँ विचार, आइडिया र सिर्जनात्मक विषयमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले औद्योगिकीकरणका लागि के गर्न सकिन्छ भन्ने विषयमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूबाट आइडिया मागेका थिए। कुनै नयाँ विचार भए प्रधानमन्त्री कार्यालयसँग सिधै सम्पर्क गर्न सकिने र त्यस्ता आइडिया लिएर आउने व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासनसमेत उनले दिएका थिए।
त्यसको भोलिपल्ट प्रतिनिधिसभामा बोल्दै आचार्यले आफू पनि ‘एक्स्ट्रा अर्डिनरी’ बन्ने प्रयासमा रहेको बताएका हुन्।
आफ्नो सम्बोधनको अर्को प्रसंगमा आचार्यले नेपालको मुद्राका लागि छुट्टै मौलिक प्रतीक अर्थात् ‘सिम्बोल’ बनाउनुपर्ने विषय पनि उठाए। उनले विश्वका शक्तिशाली तथा प्रचलित मुद्राहरूको आफ्नै पहिचान र प्रतीक रहेको उल्लेख गरे।
‘संसारका जति पनि पावरफुल मुद्राहरू छन्, डलर, युरो, पाउन्ड अथवा जापानिज येन, इभन छिमेकी राष्ट्रको युआन र भारतको भारुको पनि आफ्नै सिम्बोलहरू छन्,’ उनले भने।
विश्व वित्तीय प्रविधि अर्थात् ग्लोबल फिनटेकको युगमा नेपालको मुद्राको पनि आफ्नै छुट्टै प्रतीक भए त्यसले व्यवहारिक रूपमा सहजता ल्याउने आचार्यको भनाइ थियो।
उनले देवनागरीको मौलिकता र नेपालको राष्ट्रिय स्वाभिमान झल्किने गरी नेपाली मुद्राको प्रतीक निर्माण गर्न अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment