बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

डिसी नेपाल
१० पुष २०८२ २१:३३
20
Shares

महेन्द्रनगर। मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल नाराका साथ बालिका सम्मेलनमार्फत सात बुँदे घोषणपत्र जारी गरेको छ।

आज धनुषाको मिथिलेश्वरमा लाइफ नेपाल र मिथिला विहारी नगरपालिकाको संयुक्त आयोजनामा गरिएको पालिकास्तरीय बालिका सम्मेलन कार्यक्रममार्फत घोषणापत्र जारी गरिएको हो। सम्मेलनमा वक्ताहरूले बालविवाहले बालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा नकारात्मक असर पार्ने भन्दै यसको अन्त्यका लागि समुदाय, अभिभावक र स्थानीय सरकारको संयुक्त प्रयास आवश्यक रहेको बताए।

मिथिला विहारी नगरपालिकाका नगरप्रमुख राजेन्द्रप्रसाद यादवले बालविवाह न्यूनीकरणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै बालिकाको अधिकार संरक्षण र सशक्तीकरणमा स्थानीय सरकारले प्राथमिकता दिने बताए। लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरले बालविवाह अन्त्य गर्न सचेतना अभिवृद्धि, विद्यालयस्तरीय कार्यक्रम तथा समुदायमा निरन्तर अभियान सञ्चालन गर्दै आएको बताए।

सम्मेलनमा विभिन्न विद्यालयका बालिकाहरूको सहभागिता रहेको थियो। उनीहरूले आफ्ना अनुभव तथा विचार प्रस्तुत गर्दै बालविवाह विरुद्ध आवाज उठाएका थिए। सम्मेलनमा बालविवाह अन्त्यका लागि बाल कलाकारद्वारा नाटकसमेत प्रस्तुति गरेका थिए।

बालिका सम्मेलनको उद्देश्य बालविवाहमुक्त पालिका घोषणा गर्नुका साथै, यो सम्मेलनले बालिकालाई सशक्त बनाउने उद्देश्य रहेको लाइफ नेपालका प्रोग्राम मेनेजर डौली शर्माले बताए। उनीहरुको शिक्षा र अधिकार सुनिश्चित गर्ने र बालविवाहजस्ता सामाजिक चुनौतीहरू रोक्नेसमेत भन्नुभयो। समाजमा अझै केही किशोरीहरू शिक्षाबाट वञ्चित छन्। आफ्नो जीवनका निर्णयमा पूर्णरुपमा सहभागी हुन पाउँदैनन्। यस्ता चुनौतीहरूको सामना गर्दै प्रत्येक बालिकाको उज्यालो, सुरक्षित र सम्मानित भविष्य सुनिश्चित गर्न यो सम्मेलनको आयोजना गरिएको हो।

सम्मेलनमा मिथिला बिहारी नगरपालिकाकी नगर उपप्रमुख शोभादेवी साह, प्रशासकीय अधिकृत उपेन्द्र न्यौपाने लगायतले सम्मेलनको उद्देश्य र बालविवाह न्यूनीकरणको आवश्यकताबारे आफ्ना विचार व्यक्त गरे। उनीहरूले बालविवाह अन्त्यका लागि स्थानीय सरकार, समुदाय, अभिभावक तथा सरोकारवालाको सक्रिय भूमिका अपरिहार्य रहेकामा जोड दिए।

घोषणापत्रमा आव २०८२/८३ सम्ममा मिथिला बिहारी नगरपालिकालाई बालविवाहमुक्त पालिका घोषणा गरिने उल्लेख छ। पालिकामा बालविवाहविरुद्धका कार्यक्रम योजना तर्जुमा गरिनेछ। विवाहका लागि पालिकाबाट अनिवार्य सिफारिसको प्रक्रिया लागू गरी बालविवाह न्यूनीकरण गर्नेछ। बालविवाहको घटना पहिचान गर्न र रोक्न पालिका तहमा पूर्वसूचना प्रणालीको स्थापना गर्नेछ।

बालविवाहको घटना देखिएमा अविलम्ब कारबाहीका लागि प्रभावकारी प्रक्रिया सुनिश्चित गर्नेछ। यस पालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको परिचयपत्रमा अनिवार्य रुपमा ‘बालविवाह नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। पालिकाले सङ्घ, प्रदेश र अन्य सङ्घ संस्थाहरुसँग समन्वय गरी बालविवाहविरुद्ध विशेष अभियान सञ्चालन गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.