काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

डिसी नेपाल
२५ पुष २०८२ २०:५६
184
Shares

काठमाडौं । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौंको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौंको यो वर्षकै सबैभन्दा कम हो। पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उहनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।

यही पुस ८ गते काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री रेकर्ड गरिएको थियो। पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो। पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो। यस्तै पुस २३, २४ मा ३ डिग्रीमा झरेको तापक्रम आज २.४ मा झरेको छ।

यस्तै, विभिन्न जिल्लामा पनि तापक्रम घटिरहेको छ। आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम माइनस ७.७ डिग्री छ। जुम्लामा बिहीबार माइनस ८.१ सम्म तापक्रम झरेको थियो।

जोमसोममा आज माइनस पाँच डिग्री रहेको छभने दोलखाको जिरीमा माइनस २.१ रहेको छ। आज डडेलधुराको न्यूनतम तापक्रम १.५, दिपायलको १.४, वीरेन्द्रनगरको २.५, ताप्लेजुङको ३.९ र लुम्लेको तापक्रम ३.६ डिग्री रहेको छ।

यस्तो छ मौसमी अवस्था

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम विभागले जानकारी दिएको छ।

आज साँझ जारी बुलेटिनमा कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम सफा रहेको जनाइएको छ। कोशी, मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु/कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने पनि विभागले जनाएको छ।

देशका तराई भूभागमा हुस्सु/कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकाले सावधानी अपनाउन र विभागको मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिनहुन अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *