निर्वाचनको मुखमा ४ हजारभन्दा धेरै अपराधी खुलेआम घुम्दै

डिसी नेपाल
८ माघ २०८२ ८:४२
232
Shares

काठमाडौं। जेनजी आन्दोलनपछि फरार रहेका चार हजार बढी अपराधीहरु जेल बाहिर रहेका छन्। निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि राजनीतिक दलहरुबाट उम्मेदवारी दर्ता गराइसेको छ।

गृहमन्त्रालय अन्र्तगत रहेको कारागार व्यवस्थापन विभागले बुधबार साँझ उपलब्ध गराएको विवरण अनुसार विभिन्न जेलबाट फरार रहेका अपराधीहरु अझै चार हजारको संख्यामा बाहिर छन्। जेनजी आन्दोलनपछि फरार रहेका चार हजार कैदी कहाँ छन भन्ने अझै टुंगो लागेको छैन।

लागुऔषध कारोवारी, सुन तस्करी, कर्तव्य ज्यान मुद्धामा अपराधी, संगठित अपराधी तथा सुटरहरु समेत अपराधीहरु कहाँ छन भन्ने टुंगो नलाग्दै सरकार निर्वाचनमा होमिएको हो। कारागार व्यवस्थापन विभागका महानिर्देशक शशीधर घिमिरेले अहिले पनि चार हजार माथि कैदीबन्दीहरु बाहिर रहेको बताए। ‘प्रहरीले खोजी गरिरहेको छ, मन्त्रालय वा विभाग यसमा चुप बसेको छैन’, घिमिरेले भने।

उनीहरु जेलबाहिर हुँदा प्रतिनिधिसभा निर्वाचनमा साढे चार हजार फरार कैदीबन्दी बाधक हुन सक्ने आशंका गरिएको छ। विभिन्न अपराधको कसुरमा जेलजीवन बिताइरहेका १४ हजार पाँच सय ५५ कैदीबन्दी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते फरार भएका थिए। तिनै कैदीबन्दी निर्वाचन बिथोलन प्रयोग हुन सक्ने आशंका बढेको छ। यद्यपि गृहमन्त्रालयले उनीहरुको खोजी गरिरहेको जनाएको छ।

फरार हुनेमा पाँच सयभन्दा बढी विदेशीसमेत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभिन्न कारागार, बन्दी-सुधार गृह तथा हिरासत कक्षबाट भागेका कैदीबन्दीमध्ये १० हजार बढी सम्पर्कमा आइसकेका छन्।

कारागार व्यवस्थापन विभागका महानिर्देशक घिमिरेले फरार कैदीबन्दीको सुरक्षा निकायले खोजतलास गरिरहेको बताएपनि उनीहरुको अवस्था भने अझै अज्ञात नै रहेको छ। ‘सुरक्षा निकायले खोजी गरिरहेको छ। फरार कैदीबन्दी पक्राउ गर्ने जिम्मेवारी सुरक्षा निकायको हो।

सुरक्षा निकायले पक्राउ गरी कारागारलाई बुझाउने काम भइरहेको छ। अपराधीहरू सकेसम्म सुरक्षित हुन खोज्छन् तर प्रहरीले पक्राउ गरेर ल्याएको छ, उनीहरुको खोजतलासका लागि मन्त्रालय प्रजिअलाई निर्दैशन दिएको छ’, घिमिरेले भने।

नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले पटक पटक देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई कैदीबन्दी तथा थुनुवा खोजतलास गर्न निर्देशन दिएको बताएका छन्। उनले भर्चुअल बैठक गरी कैदीबन्दी र हतियार खोजतलास गर्न निर्देशन दिएपनि पक्राउ पर्न सकेका छैनन्।

नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक (डिआइजी) काफ्लेका अनुसार १० हजार बढी कैदीबन्दी फिर्ता भएका छन्। तीमध्ये केहीलाई पक्राउ गरेर कारागारमा ल्याइएको हो।

बाँकीलाई नियन्त्रणमा लिन प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट ‘फोकल पर्सन बनाएर परिचालन गरेको छ। असोज २६ मा कारागार व्यवस्थापन विभागले कैदीबन्दीको विवरण सार्वजनिक गर्दै खोजबिनमा सहयोग गर्न अपिल गरेको थियो।

गृह मन्त्रालयले सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि रहने गरी सबै जिल्लामा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको छ। जिल्ला कार्यदलले पनि प्रहरीलाई नै निर्देशन दिने भएकाले पक्राउ गर्ने, खोजी गर्ने जिम्मेवारी प्रहरीकै हो।

जेनजी आन्दोलनको मौका छोपेर भदौ २४ गते केन्द्रीय कारागार, नक्खु कारागार, बाँके, रौतहट, सिन्धुली, चितवन, मकवानपुर, कपिलवस्तु, कास्की, तनहुँ, कैलाली, कञ्चनपुर, नवलपरासी, सुनसरी, दाङ, महोत्तरीसहितका २८ कारागार र नौ बालसुधार गृहबाट कैदीबन्दी फरार भएका थिए।
जेनजी आन्दोलनका क्रममा तीन प्रहरी र १० कैदीबन्दीसहित ७६ जनाको ज्यान गएको थियो।

प्रहरीका १२ सय बढी हतियार, करिब एक लाख राउन्ड गोली पनि लुटपाट भएको थियो। करिब चार सय घातक हतियारबारे प्रहरी अझै बेखबर छ। लुटिएका हतियार र फरार कैदीबन्दीबाट सुरक्षा जोखिम उत्पन्न भएको स्वयं प्रहरीकै आन्तरिक प्रतिवेदनले जनाए पनि सबै कैदीबन्दी पक्राउ पर्न सकेका छैनन्।

प्रहरीका अनुसार फरार नेपाली तथा विदेशी नागरिकहरू जबर्जस्ती करणी, लागुऔषध, सुन तस्करी, मानव तस्करी, अपहरण तथा शरीर बन्धक, डकैती, हत्या (कर्तव्य ज्यान), चोरी, राजस्व चुहावट, विदेशी मुद्रा तस्करीलगायतका अभियोगी छन्।

फरार कतिपय अपराधीहरू भने विदेश पुगिसकेको हुन सक्ने प्रहरीको आशंका छ। फरार विदेशी कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलको पनि सहयोग मागिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार चिनिया नागरिकहरु अझै फरार रहेका छन्। ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका अधिकांश चिनियाँ तस्कर कारागारबाट भागेर फरार छन्।

भदौ २४ गते राति कारागार तोडफोड तथा आगजनी गर्दै देशका विभिन्न कारागारबाट कैदीबन्दी फरार हुने क्रममा दावा छिरिङसहित सुन तस्करीमा जोडिएका चिनियाँ कैदी फरार भएका हुन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकलाई ललितपुरस्थित नक्खु कारागार र सुन्धारास्थित जग्गनाथदेवल (केन्द्रीय) कारागारमा राखिएको थियो। यी कारागारबाट १० चिनियाँ सुन तस्कर फरार छन्। फरार हुनेमा रोल्पाकी अमला रोकासँग विवाह गरेका चिनियाँ नागरिक दावा छिरिङ पनि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.