पश्चिम नेपालमा वर्षा र हिमपात सुरु, राति पूर्वतर्फ सर्दै आउने
मुस्ताङको खिङ्गामा भारी हिमपात
मुस्ताङ (जोमसोम), ११ कात्तिकः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गामा भारी हिमपात । आज रातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदैउपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । हिमापातपछि गाउँपालिका–१ का वडा अध्यक्षले जोखिम मोलेर मुक्तिनाथ क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्नुभएको छ । तस्बिरः सुशीलबाबु थकाली÷रासस
काठमाडौं। आज साँझ प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल पश्चिम नेपालबाट वर्षा र हिमपात सुरु भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले हाल वैतडी र दार्चुला, चाँदनी दोधाराबाट वर्षा सुरु भएको र डोल्पा, हुम्लातिर हिमपात सुरु भएको जानकारी दिए। उक्त प्रणालीका कारण राति थप वर्षा र हिमपात हुँदै प्रणाली पूर्व सर्दै आउने पनि उनले बताए।
पौडेलका अनुसार बुधबार बिहानैबाट देशभर नै बादल लाग्ने र काठमाडौँमा पनि हल्कादेखि मध्यमसम्म वर्षा गराउन सक्ने छ। प्रणाली पूर्वतर्फ सर्दै आउँदा कोशी र मधेशमा अलि कम असर देखिने सम्भावना रहेको पनि उनले बताए।
पछिल्लो १ घण्टामा दार्चुलामा दार्चुला र बैतडीमा शून्य दशमलव आठ मिलिमिटर वर्षा भएको छ। विभागले साँझ सार्वजनिक गरेको विवरणमा आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने तथा बाँकी पहाडी र तराईका भू–भागमा आंशिक बादल लाग्नेछ छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम हिमपात/वर्षा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ।
साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङको सम्भावना रहेको छ।
बुधबार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भू–भागमा साधारणतया बादल लाग्ने छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू–भागका केही स्थानमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र कोशी प्रदेशको तराईको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ।







डिसी नेपाल








Facebook Comment