गोरखाको निर्वाचन तयारीबारे अर्थमन्त्रीद्वारा अनुगमन

डिसी नेपाल
२० माघ २०८२ २२:२१
20
Shares

गोरखा । गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन्। आज दिउँसो छुट्टाछुट्टै गोरखा आइपुगेका उनीहरूले जिल्लाको निर्वाचनको तयारी, सुरक्षा प्रबन्धका बारेमा अध्ययन, अनुगमन, भ्रमण तथा छलफल गरेका हुन्।

अर्थमन्त्री खनालले मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा पुगी वस्तुगत अध्ययन तथा छलफल गरेका छन्। सो क्रममा ती दुवै कार्यालयले निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसारका सबै चरणहरू पूरा भइसकेको जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले जानकारी दिए। ‘उहाँले निर्वाचन सभ्य, भव्य, निष्पक्ष, भयरहित ढङ्गले सबैको सरसहयोगको खाँचो रहेकाले सर्वपक्षीय, सर्वदलीय बैठक, छलफल, समन्वय र सहकार्यलाई जारी राख्न निर्देशन दिनुभयो’, कोइरालाले भने।

अर्थमन्त्री खनाल मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालयको अनुगमन भ्रमण गरेर जिल्ला प्रशासन कार्यालयमा आउनुभएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए। उनले भने, ‘हामीले हालसम्म भए गरेका प्रगतिका विवरण सबै सुनायौँ। उहाँले सोचेभन्दा धेरै प्रगति भएको रहेछ भन्ने प्रतिक्रिया दिएर जानुभयो।’ गोरखाको भ्रमण सकेर अर्थमन्त्री खनाल तनहुँ, लमजुङ हुँदै म्याग्दीसम्म जाने कार्यक्रम रहेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ।

त्यस्तै नायब महानिरीक्षक जिसीले जिल्ला प्रहरी कार्यालय गोरखा, इलाका प्रहरी कार्यालय आरुघाट र इप्रका ठाँटीपोखरीको अनुगमन गरेका छन्। सो अवसरमा उनले निर्वाचन सुरक्षा चुनौती तथा सुरक्षाकर्मी परिचालन प्रबन्धको अवस्थाबारे सोधपुछ गरेका थिए।

साथै जटिल भौगोलिक अवस्थितिमा अपनाउन सकिने सुरक्षा वस्तुस्थितिबारे पनि सोधपुछ गरेका थिए। जिल्ला प्रहरी कार्यालयले सो विषयमा जानकारी गराएपछि नायब महानिरीक्षक जिसीले सुरक्षा व्यवस्थाप्रति सन्तोषजनक रहेको टिप्पणी गर्दै आगामी फागुन २१ गते हुने चुनाव स्वच्छ, निष्पक्ष, भयरहित बनाउन उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.