नेपाल-भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन
काठमाडौं। नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको उपचारका क्रममा निधन भएको छ।
मोरङको विराटचोकमा शुक्रबार नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी सहभागी डीआईजी तहको समकक्ष समन्वय बैठक चलिरहेका बेला एसपी घिमिरे अचानक बेहोस भएका थिए। बैठकस्थलमै ढलेपछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो।
बेहोस भएर ढल्ने क्रममा एसपी घिमिरेको जिब्रो काटिएको थियो। स्वास्थ्य अवस्था झन् बिग्रिँदै गएपछि उनलाई सघन उपचारका लागि भेन्टिलेटरको सहायता लिइएको थियो। सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकली सुनसरीका डीआईजी कुमार न्यौपानेका अनुसार नम्बर ३ बाहिनी गाढीमाई मुख्यालय मकवानपुरमा सरुवा भएका घिमिरे शनिबार त्यता जाने तयारीमा थिए।
उक्त बैठकमा सशस्त्र प्रहरी नायब महानिरीक्षकहरू अन्जनीकुमार पोख्रेल, दिपेन्द्र शाह, कृष्ण ढकाल र मनिष थापा तथा भारतीय एसएसबीको तर्फबाट डिआइजी सरोजकुमार थाकुर, मन्जिीत सिंह, सुरेश सुब्रमनिम, राजेस टिक्कु र मनिष कुमारको समेत उपस्थिति थियो ।
चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा राति ८ बजेर ५२ मिनेटमा उनको निधन भएको हो। प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा उनलाई उच्च रक्तचाप देखिएको थियो।








डिसी नेपाल






Facebook Comment