सत्ताको दुरुपयोग गर्ने व्यक्तिलाई कांग्रेसले जोगाउँदैन वा संरक्षण गर्दैन : अजयबाबु शिवाकोटी
चरीकोट। नेपाली कांग्रेसका दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले ‘जेनजी’ आन्दोलनका क्रममा नेताहरूको घरमा भएको आगलागी र त्यहाँ भेटिएको भनिएको पैसाको विषयमा सरकारले निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
शनिबार भीमेश्वर नगरपालिकाको रामकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कुनै पनि राजनीतिक दलको घरमा भेटिएको भनिएको पैसाको सत्यतथ्य बाहिर ल्याउन सरकार, अख्तियार, सीआईबी र प्रहरीले खोजतलास गर्नुपर्ने धारणा राखे।
‘जसको जहाँ जति पैसा थियो, त्यो अब व्यक्तिगत रहेन, सार्वजनिक विषय बन्यो,’ उनले भने। शिवाकोटीले यस प्रक्रियामा नेपाली कांग्रेसले कुनै पनि अवरोध वा विरोध नगर्ने स्पष्ट पार्दै न्यायसंगत ढंगले र पूर्वाग्रह नराखी सार्वजनिक पदमा बसेका सबैको छानबिन हुनुपर्नेमा जोड दिए। उनले कांग्रेसले कहिल्यै पनि आफ्ना मान्छेलाई जोगाउने वा संरक्षण गर्ने पक्षमा नरहेको दाबीसमेत गरे।
आफ्नो पत्रकारिताको पृष्ठभूमिलाई स्मरण गर्दै शिवाकोटीले आफू जहिले पनि सत्ता र शक्तिको दुरुपयोगका विरुद्ध उभिएको बताए। तत्कालीन सभामुख कृष्णबहादुर महराको अनैतिक प्रकरण र तत्कालीन सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको ७० करोड घोटाला अडियो प्रकरण सार्वजनिक गर्दा आफूले ज्यानको जोखिम मोल्नुपरेको, भूमिगत हुनु परेको र घर छोडेर भाग्नुपरेको तीतो अनुभव उनले सुनाए।
पत्रकार जहिले पनि सत्ताको विपक्षमा हुने र शक्तिमा हुनेहरूलाई नै प्रश्न गरिने उनको तर्क थियो। राजनीतिलाई ुमूलुबाटै सफा गर्न सकिन्छ कि भन्ने उद्देश्यले आफू यस क्षेत्रमा लागेको भन्दै उनले पार्टीभित्र पनि केन्द्रीय समितिमा आफ्नो फरक मत राख्दै कतिपय अवस्थामा अप्ठ्यारोमा परेर पनि सत्यको पक्षमा लडिरहेको उल्लेख गरे।
उनले भने, ‘पत्रकार जहिले पनि पत्रकार जहिले पनि सत्ताको विपक्षमा हुन्छ। शक्ति जोसँग छ त्यसैलाई प्रश्न गरिन्छ। त्यो सत्तामा भएको बेला शक्तिको दुरुपयोग हुँदा उजागर गरेका विषय थियो। मैले त्यो गर्दा लखेटाइ र भाग्नु परेको थियो। ज्यानको सुरक्षा थिएन। म एक महिना घर बसेको थिइन। रमाइलो कुरा छैन यो र स्वादको कुरा पनि छैन। भूमिगत हुँदै हिँड्नुपर्ने कुरा सजिलो छैन। योबीचमा पनि मैले पत्रकारिता गर्दै आएको थिएँ।’
दोलखाको विकासका लागि आफ्ना योजनाहरू सुनाउँदै उनले जिल्लालाई धार्मिक र प्राकृतिक पर्यटनको केन्द्र बनाउने सङ्कल्प गरे। बुद्ध धर्मसँग जोडिएका लप्ची, बिगु र जिरी जस्ता क्षेत्रहरूलाई बुद्ध सर्किटको रूपमा विकास गर्ने र श्रृङ्गी ऋषिले तपस्या गरेको क्षेत्रलाई रामायण सर्किटसँग जोड्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए।
साथै दोलखा भीमसेन, कालिन्चोक भगवती र सैलुङ जस्ता पर्यटकीयस्थलको अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने तथा छोरोल्पा हिमतालमा हिउँदको समयमा आइस हक्कीु खेलाउने योजनासमेत उनले अघि सारे। उनले दोलखामा कृषकहरूका लागि टाउको दुखाइ बनेको बाँदरको समस्या हल गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिए।
हामी दोलखालाई धार्मी पर्यटनको रुपमा बिकास गर्न चाहन्छौँ। बुद्ध धर्मसँग जोडिएका थुप्रै केन्द्रहरू छन्। लप्ची, बिगु, जिरी आदि। यसलाई हामीले बुद्ध ‘धर्मको केन्द्र बनाउन सक्छौँ। धार्मिक हिसाबले श्रंगी ऋषिले तपस्या गरेको सुरुंगेलाई रामायण सर्किटसँग जोड्न सकिन्छ भन्ने कुरामा अहिले लबिङ भइरहेको छ। यही दोलखा भीमसेन सबैको आस्थाको केन्द्रलाई अझ बढी प्रवर्धन गर्न सकिन्छ। कालिन्चोक माता लगायतका स्थानलाई जोडेर धार्मिक पर्यटन बनाउन सकिन्छ। सैलुङको चर्चा अन्तर्राष्ट्रिय हिसाबले भएको छ त्यसलाई हामी प्रवर्धन गर्न सक्छौँ। छोरोल्पा हिमतालमा हिउँदमा त्यहाँ आइस हक्की खेलाउने भन्ने ढंगले साथीहरू प्रस्ताव लिएर आइरहनुभएको छ।’
भ्रष्टाचार विरोधी अभियान र पत्रकारिताको पृष्ठभूमिबाट आएका कारण उनीप्रति विशेष गरी युवा पुस्ताको आकर्षण बढेको देखिएको छ। ‘हामी सक्छौँ, परिवर्तन सम्भव छ’ भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएका शिवाकोटीले सिँचाइ र माटोको गुणस्तर सुधारलाई पनि आफ्नो प्राथमिकतामा राखेका छन्। आफू जनताको सच्चा प्रतिनिधि भएर दोलखाको मुहार फेर्न आएको र विजयी भएपछि सधैँ जनताकै सुखदुःखमा साथ दिने प्रतिबद्धता उनले जनाए।
उनी अहिले कार्यकर्तासहित जिल्लाका टोल र बस्तीमा पुगेर मतदाताका राय लिँदै आफ्ना योजनाहरू सुनाउन व्यस्त छन्। नयाँ सोच र जोश भएको नेतृत्वले मात्र दोलखाको विकास गर्न सक्ने भन्दै उनले आफूलाई जिताउन सबै मतदातामा अपील गरे।








डिसी नेपाल






Facebook Comment