निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

डिसी नेपाल
२४ माघ २०८२ २०:२७
28
Shares

काठमाडौं। सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आउँदो फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय केन्द्रीय सुरक्षा समितिले गरिसकेको जानकारी दिए।

उनले हाल सामाजिक सञ्जालको दुरुपयोग बढ्दो क्रममा रहेकाले त्यसलाई रोक्न नेपाल प्रहरीले सञ्चालनमा ल्याएको अत्याधुनिक युनिटलाई थप प्रभावकारी बनाइने बताए। निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानीमा पनि टोलीले काम गरिरहेको उनको भनाइ छ।

निर्वाचनविरोधी गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउन सुरक्षा संयन्त्रले चुस्त निगरानी गरिरहेको उनले उल्लेख गरे। उनले निर्वाचन प्रहरीको बिमाका साथै सञ्चार सम्पर्क नहुने मतदानस्थलको पहिचान गरी उचित प्रबन्ध मिलाउने तयारी भइरहेको बताए।

गृह मन्त्रालयले सबै सुरक्षा संयन्त्र र प्रशासनिक निकायलाई निर्वाचनको सुरक्षामा कुनै कमीकमजोरी नगर्न र चुस्त व्यवस्थापनमा लाग्न निर्देशन दिइसकेको उनले जानकारी दिए।

मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगमा ध्यान दिन अनुरोधसहित मिथ्या/भ्रमपूर्ण तथा कसैलाई लाञ्छना लगाउनेजस्ता सूचना नराख्न भन्दै त्यस्ता गतिविधि गरेमा कारबाही हुने जानकारी गराएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.