आसरा सुधार केन्द्र रानीबारीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न

डिसी नेपाल
१ असोज २०७६ २१:११

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २३औं वार्षिकोत्सव कार्यक्रम केन्द्रको कार्यालय रानीबारीमा बुधबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनाल तथा उक्त केन्द्रकी अध्यक्ष प्रमिला खनालले केन्द्रको स्थापना कालमा महत्वपूर्ण योगदान पुर्याउने पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवर र केन्द्रकी पूर्व सचिव सुनिता राणालाई सम्मानपत्र प्रदान गरे।

साथै प्रहरी महानिरीक्षक खनालले केन्द्रको वार्षिक गतिविधिमा सहयोग गर्ने नेपाल प्रहरी अस्पताल, महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज, ब्रम्हकुमारी राजयोग सेवा केन्द्र ठमेल, जीवन विज्ञान प्रतिष्ठान चाबहिल र चिकित्सक तथा चिकित्सा मनोविदलाई समेत प्रशंसापत्र प्रदान गरे।

यसैगरी प्रहरी महानिरीक्षक खनालले केन्द्रको सुरक्षा एवं व्यवस्थापन कार्यमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरु तथा उत्कृष्ट परामर्शदाताहरु लगायतलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरे। सो अवसरमा उनले उक्त केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण’ को विमोचन समेत गरे।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले केन्द्रमा उपचाररत सदस्यहरुले अनुशासित, लगनशील र धैर्यवान भएर उपचार प्रविधि र विधि अनुशरण गरेमा सकारात्मक परिणाम आउने बताए।

समाजले प्रहरीले नै सबै काम गरोस भन्ने अपेक्षा गर्ने भएकोले लागूऔषध दूर्व्यसनमा फसेका व्यक्तिहरुलाई समाजमा पुनर्स्थापना गर्न नेपाल प्रहरीले यस्ता केन्द्रहरु थप बिस्तार गर्दै लगेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले केन्द्रले नेपालभरीकै लागूऔषध दुर्व्यसनी न्यूनीकरण गर्न थप उर्जा र सक्रियताका साथ यस्ता सामाजिक कार्यमा अघि बढनुपर्ने बताए।

नेपाल प्रहरीले सामाजिक अपराध नियन्त्रणलाई विशेष प्राथमिकताका साथ संचालन गर्दै आएको उल्लेख गर्दै यसलाई थप व्यवस्थित बनाउन हालै मानव बेचबिखन अनुसन्धान ब्यूरो, साइबर ब्यूरो लगायतका विशिष्टिकृत इकाई स्थापना गरेको प्रहरी महानिरीक्षक खनालले बताए।

समाज सेवा कठिन कार्य भएको उल्लेख गर्दै सामाजिक विकृति विसंगति निर्मुल पार्ने कार्यमा केन्द्रको प्रयासलाई आवश्यक सहयोग गर्न नेपाल प्रहरी सदैव तयार रहेको समेत उनले बताए।

कार्यक्रममा केन्द्रकी अध्यक्ष प्रमिला खनालले लागूऔषध दुर्व्यसनीको विकराल समस्यालाई मध्यनजर गर्दै यस्ता कुलतबाट युवावर्गलाई मुक्ति दिलाउन केन्द्र क्रियाशील रहेको बताए।

लागूऔषध सम्बन्धी अपराध व्यवसायिक र संगठित स्वरुपमा बलियो बन्दै गइरहेको अवस्थामा सामुहिक प्रयासले यस विरुद्ध जनचेतनामुलक कार्यक्रमहरु व्यापक रुपमा संचालन गर्नुपर्ने उनले बताए।

कार्यक्रममा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्तराज कुँवरले बर्दी लगाएको प्रहरी नै नागरिकको विपद् र अप्ठ्यारो परिस्थितिको सहयोगी र प्रतिनिधि भएको बताए।

नेपाल प्रहरी श्रीमती संघ नै सबैभन्दा ठूलो र बलियो सामाजिक संस्था भएकोले मानवसेवाको कार्यमा थप क्रियाशील भएर अघि बढ्नुपर्ने उनले बताए।

सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दीपक केसीले मन्तव्य व्यक्त गर्दै केन्द्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

केन्द्रकी सचिव महिमा शाहले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो समारोहमा केन्द्रका पूर्व उपचाररत सदस्यले केन्द्र मार्फत प्राप्त पुनर्जीवनको अनुभूति ब्यक्त गरेकी थिइन भने केन्द्रमा उपचाररत सदस्यहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत केन्द्रमा उपचाररत सदस्यका अभिभावकहरुको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *