स्वास्थ्यमन्त्री गौतमद्वारा भेरी अस्पतालको अनुगमन
जानकी (बाँके)। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले नेपालगञ्ज उपमहानगरपालिका–१० मा रहेको भेरी अस्पतालको अनुगमन गरेकी छन्।
सोमबार अस्पतालको अनुगमन गर्दै मन्त्री गौतमले अस्पतालमा बेड संख्या बढाउनुपर्ने आवश्यकता रहेको बताइन्। उनले अस्पतालमा सेवा विस्तार आवश्यक भए पनि वर्तमान आर्थिक अवस्थाका कारण नयाँ भौतिक संरचना निर्माणमा चुनौती रहेको उल्लेख गरिन्।
मन्त्री गौतमले भनिन्, ‘अस्पतालहरूमा बेड बढाउनुपर्ने कुरामा कुनै दुविधा छैन। तर अहिलेको आर्थिक अवस्थाका कारण नयाँ संरचना निर्माणका लागि अर्थ मन्त्रालयबाट स्वीकृति लिन र स्रोत व्यवस्थापन गर्न कठिनाइ छ। तथापि, यस विषयलाई म प्राथमिकतामा राख्नेछु।’
उनले स्वास्थ्य सेवा प्रभावकारी बनाउन विद्यमान स्रोत र संरचनाको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिँदै अस्पताल प्रशासनसँग सेवा प्रवाहलाई थप व्यवस्थित र जनमैत्री बनाउन निर्देशन दिइन्। अनुगमनका क्रममा मन्त्री गौतमले अस्पतालको सेवा अवस्था, जनशक्ति, पूर्वाधार तथा बिरामीलाई प्रदान गरिने सुविधाबारे जानकारी लिएकी थिइन्।







डिसी नेपाल






Facebook Comment