नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक

डिसी नेपाल
२७ माघ २०८२ १७:१३
48
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि चुनावी प्रतिबद्धता पत्र ल्याएको छ।

मंगलबार अपराह्न नेकपा केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन्। जसमा ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारा अगाडि सारिएको छ।

झण्डै १३ हजार शब्दको प्रतिबद्धता पत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ। त्यसका लागि नेकपाले ‘स्वाधीन र समृद्ध नेपालका निर्माणको मार्गचित्र’ अघि सारेको हो।

पाँच वटा अध्यायमा विभाजित प्रतिबद्धता पत्रको पहिलो अध्यायमा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण राखिएको छ। त्यस्तै, दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणाममुखी प्रशासनबारे चर्चा गरिएको छ।

तेस्रो अध्यायमा आर्थिक सुधारको नयाँ चरण समाजवादका आधार निर्माणबारे विवेचना गरिएको छ। चौथो अध्यायमा शिक्षा, स्वास्थ्य र रोजगारीबारे योजना अघि सारिएको छ।

अन्तिम अध्यायमा समानता, समावेशिता, सामाजिक न्याय र सुरक्षाबारे चर्चा गरिएको छ। सामाजिक न्यायका लागि के के काम गर्ने भन्ने उल्लेख गरिएको छ।

नेकपाको प्रतिबद्धता पत्रमा प्रगति हुन नसकेका राष्ट्रिय गौरवका आयोजना र नयाँ महत्त्वपूर्ण आयोजनाहरूको निर्माण द्रुतरूपमा सम्पन्न गर्ने जनाइएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग, हुलाकीमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौँ-निजगढ द्रुतमार्ग, काठमाडौँ-हेटौडा सुरुङमार्ग, उत्तरदक्षिण लोकमार्ग (कोशी, त्रिशूली, कालीगण्डकी, कर्णाली र महाकाली कोरिडोर) गड्डाचौकी-चिसापानी सडक खण्ड चार लेनको निर्माण गर्ने पनि उल्लेख छ। खुटीया-दिपायल-चैनपुर-उरै भञ्ज्याङ योजना को निर्माण शीघ्र सम्पन्न गर्ने नेकपाले जनाएको छ।

यससँगै काठमाडौंको बाहिरी चक्रपथ र अन्य प्रमुख शहरमा चक्रपथको निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता पत्रमा उल्लेख छ। ‘सबै स्थानीय तहका केन्द्रसम्म पक्की सडक पुर्‍याइनेछ। हुलाकी सडकका बाँकी खण्डको निर्माण कार्य पूरा गरिनेछ,’ नेकपाले भनेको छ, ‘पूर्व-पश्चिम हिमाली लोकमार्गको अध्ययन गरी प्रारम्भिक कार्य सम्पन्न गरिनेछ।’

नेकपाले ठूला पूर्वाधार निर्माणमा पनि जोड दिएको छ। ‘केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्गको निर्माण प्रक्रिया अगाडि बढाइनेछ। यसअघि सहमति भए अनुसारका नाका सञ्चालनका लागि कूटनीतिक पहल गरिनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘पूर्व-पश्चिम रेलमार्ग निर्माण र काठमाडौँमा मेट्रोरेल तथा मोनोरेल निर्माण प्रक्रिया अगाडि बढाइनेछ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य ५ वर्षमा सक्ने, हाल प्रयोगमा नरहेका मुलुकका विभिन्न भागका विमानस्थलको स्तरोन्नति गरी प्रयोगमा ल्याउने वा अन्य प्रयोजनमा उपयोग गर्ने नेकपाले जनाएको छ। ‘मुलुकका विभिन्न भागमा द्रुतमार्ग, लोकमार्ग र टनेल मार्गको निर्माण कार्य अगाडि बढाइनेछ। प्रमुख सहरहरूमा मास ट्रान्सिट सिस्टम कार्यान्वयनमा ल्याउनेछ,’ प्रतिबद्धता पत्रमा भनिएको छ, ‘ठूला नदीहरूमा जल यातायातका पूर्वाधार निर्माण गरिनेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *