संविधान पुनरावलोकन र परिमार्जन गर्न प्रतिबद्ध छौं : संयोजक दाहाल

डिसी नेपाल
२७ माघ २०८२ १९:२५
36
Shares

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवयुवा पुस्ताको मर्म र भावनाअनुसार राजनीतिक स्थिरताका लागि संविधान संशोधन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर पार्टीको तर्फबाट ‘सङ्क्षिप्त घोषणापत्र’ सार्वजनिक गर्दै उहाँले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयलाई पुनरावलोकन र परिमार्जन गरिने बताए।

“संविधान जारी भएको १० वर्ष पूरा भएको छ। संविधानले पनि १० वर्षमा पुनरावलोकन र परिमार्जन गर्ने भनिएको छ। प्रतिबद्धतापत्रमा त्यस विषयलाई महत्त्वका साथ उठाएको छौँ”, संयोजक दाहालले भने, “यसैगरी सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शीतालाई उच्च प्राथमिकता राखिएको छ।”

उनले सामाजिक विभेद र असमानता अन्त्य गर्ने कुरामा पनि आफूहरू प्रष्ट योजनाका साथ अगाडि बढ्ने बताए। “आत्मनिर्भर र स्वाधिन अर्थतन्त्र, वातावरण संरक्षण, विपद् व्यवस्थापन, नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्ने, राष्ट्रिय हित र परराष्ट्र सम्बन्धलाई बलियो बनाउने विषयलाई पनि प्रतिबद्धतामा उच्च प्राथमिकता दिइएको छ”, संयोजक दाहालले भने।

प्रतिबद्धतापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ। बहुआयामिक गरिबीको दर १० प्रतिशतमा सीमित गर्ने, प्रतिवर्ष एक लाख ५० हजार रोजगारी सिर्जना, पाँच लाख नियमित रोजगारी सुनिश्चित, विदेशबाट फर्केका एक लाख जनालाई उद्यमी बनाउने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ।

यस्तै, धान, दूध, मासु, तरकारीलगायत कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने, आगामी दशकलाई कृषि लगानी दशक घोषणा, सबै किसानलाई एक वर्षभित्र किसान परिचयपत्र वितरण गर्नेलगायत कार्यक्रम पनि समावेश गरिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *