उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

डिसी नेपाल
२८ माघ २०८२ १८:३३
16
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव जापानका सम्राट नारुहितोको ६६औं शुभजन्मोत्सव तथा नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बर्षगाँठका अवसरमा यहाँस्थित जापानी दूतावासले आयोजना स्वागत समारोहमा सरिक भए।

त्यस अवसरमा नेपालका लागि जापानी राजदूत मेइदा तोरुले त्यहाँ पुगेका आमन्त्रित पाहुनालाई स्वागत गर्दै नेपाल र जापानबीच रही आएको न्यानो र मित्रवत् सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे। जापानी सम्राटको ६६औं जन्मोत्सव यही फ्रेबुअरी २३ गते भव्य रुपमा मनाइँदैछ।

उनले भने, ‘यो वर्ष हाम्रा लागि ठूलो महत्वको वर्ष रह्यो, नेपाल–जापानबीच दौत्य सम्बन्धको ७० वर्षको उपलक्ष्यमा राष्ट्रपति रामचन्द्र पौडेलको चारदिने जापान भ्रमण भएको छ।’

जापानका सम्राट, सम्राज्ञी र प्रधानमन्त्रीसँग राष्ट्रपति पौडेलको भेटवार्ताबाट दुई देशबीचको सम्बन्ध थप विस्तारमा योगदान पुगेको बताउँदै राजदूत तोरुले यस्ता भ्रमण आदानप्रदानले सन् १८९९ देखिको सुरु भएको जनस्तरको सम्बन्धसमेत सुदृढ हुँदै गएको बताए।

जापानी चिकित्सकले तानसेनमा सन् १९६० अस्पताल खोल्नुभएको र त्यसक्षेत्रमा टिबीरोगबाट आमाबाबु बितेका १२ जना बालबालिकालाई पालनपोषण गरी संरक्षण प्रदान गर्नुभएको जनस्तरको सम्बन्ध र योगदानको पनि राजदूत तोरुले उल्लेख गरे।

त्यस्तै, एक जापानी प्राध्यापकले हरेक वर्ष केही नेपाली विद्यार्थीलाई जापानमा पढाउने र नेपालमा ल्याइ विभिन्न अनुसन्धान गर्न लगाउने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले व्यक्तिगत तहमा केही जापानी पर्वतारोहीले नेपालका हिमाली क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बताए।

हाल जापानमा करिब दुई लाख ७० हजारको सङ्ख्यामा रहेका नेपाली अध्ययन, अध्यापन र विभिन्न पेसा व्यवसायमा संलग्न छन्। जापान नेपालको विकासको ठूलो साझेदार मात्र नभई जनस्तरमा समेत गहिरो मित्रता, सद्भाव र सहयोगमा आधारित सम्बन्ध भएको मुलुक हो।

पछिल्लो समय दुई देशबीच व्यापार, लगानी, मानवसंशाधन विकास, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति र पर्यटनजस्ता क्षेत्रमा आपसीहितलाई अभिवृद्धि गर्ने सहमति भएको छ।

समारोहमा नेपाल सरकारका मन्त्रीहरु, तात्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्रमन्त्री, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.