संखुवासभाले सिंगो नेपाललाई पाल्न सक्छ, त्यसमा म काम गर्न चाहन्छु : डा. अर्जुन कार्की

डिसी नेपाल
१ फागुन २०८२ १५:५०
44
Shares

संखुवासभा। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एमालेका तर्फबाट संखुवासभाका उम्मेदवार डा.अर्जुन कार्कीले संखुवासभाले सिङ्गो नेपाललाई पाल्न सक्ने दाबी गरेका छन्।

हालै चुनावी अभियानका क्रममा माङ्सिमा र मकालु क्षेत्रमा पुगेर स्थानीयहरुसँग साक्षात्कार गर्दै उनले भने,‘म संखुवासभालाई देश तथा बिदेशमा चिनाएर जिल्लाबासीका निम्ति दुःख–सुखमा साथ दिन चाहन्छु। हाम्रो जिल्लाले सिंगो नेपाललाई पाल्न सक्छ। संखुवासभा जलविद्युतको राजधानी हो, यहाँको जलविद्युतबाट सिंगो नेपाललाई पाल्न सक्छौं भन्नेमा विश्वास दिलाउन चाहन्छु। नेपाल बनाउने काममा म भूमिका निर्वाह गर्न चाहन्छु, यसका लागि मलाई विजयी गराउनुहोला।’

विगतका काम, सामाजिक विकासमा योगदान र वर्षौंदेखिको सम्बन्धलाई स्मरण गर्दै उनले चुनावका बेला मात्रै होइन, वर्षौंदेखिको सहकार्य र विश्वासको सम्बन्ध कायम राख्ने पनि बताए।

आफू जिते पनि हारे पनि सधैं जनताको साथमै रहने विश्वास व्यक्त गरे। उनले विकास, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता पनि जनाए।

एमालेबाट उम्मेदवार बनेका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन्। संखुवासभामा जन्मे हुर्केका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।

डा कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन्।

साथै उनले राष्ट्रिय विकास परिषद्को सदस्य रहिसकेका उनले सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय स्तरमा सक्रिय पैरवी गरेका थिए। गरिबी, असमानता, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा उनले सशक्त आवाज उठाउँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.