सङ्घर्ष जारी छ, अबको सङ्घर्ष उत्पादनका लागि हुन्छ : प्रचण्ड
रुकुमपूर्व। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धदेखि सुरु भएको सङ्घर्ष उत्पादन र समृद्धिको चरणमा आइपुगेको बताएका छन्।
रुकुमको भूमे–२, खाबाङ्ग बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले नयाँ पुस्ताले उठाएका मागहरूलाई जनयुद्धकै निरन्तरता भएको उल्लेख गरे। “जेनजी पुस्ताले उठाएका मागहरू शान्ति प्रक्रियाका क्रममा उठाइएका तर शक्ति सन्तुलनका कारण पूरा हुन नसकेका मुद्दाहरूको निरन्तरता हुन्”, उनले भने, “मुद्दाहरू बाँकी छन्, सपनाहरूको हिसाब अझै भएको छैन, हामीले त्यो बिर्सेका छैनौँ।”
संविधान जारी भएको एक दशकमा विभिन्न सुधारका प्रयास गरिएको उल्लेख गर्दै संयोजक दाहालले सरकारमा रहँदा एक वर्षभित्र पाँच लाख भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने नीति तथा बजेट ल्याइएको जानकारी दिए। त्यसका लागि कानुन संशोधन गरिए पनि सरकारबाट बाहिरिएपछि कार्यक्रम रोकिएको उनको भनाइ थियो।
विदेशबाट फर्केका युवालाई लक्षित उद्यमशीलता कार्यक्रमले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै उनले अबको युद्ध उत्पादनसँग जोडिने बताए। उनले सूचना प्रविधि, पर्यटन, कृषिलगायत क्षेत्रमा आगामी पाँच वर्षभित्र २० लाखभन्दा बढी रोजगारी र स्वरोजगारी सृजना गर्न सकिने दाबी गरे।
पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्न नपाउँदा राम्रा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको अनुभव सुनाउँदै संयोजक दाहालले दोहोरो जिम्मेवारी भएका निकाय गाभ्ने, सङ्घीय संरचनामा दोहोरिएका कार्यक्रम हटाउने तथा नीति–बजेट प्रक्रियामा सुधार गर्ने प्रयासहरू अधूरै रहेको बताए।
कुशासन र भ्रष्टाचार बढ्दै जाँदा जनताको आक्रोशले व्यवस्था नै सङ्कटमा पर्न सक्ने चेतावनी आफूले पटकपटक दिएको उल्लेख गर्दै उहाँले वर्तमान परिस्थिति त्यसैको परिणाम भएको दाबी गरे। “मेरो आजको लडाइँ रुकुमको समृद्धि र समग्र देशको विकासका लागि हुनेछ”, उनले भने। लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै अधुरा एजेन्डा पूरा गर्न नयाँ ऊर्जा, उत्पादनमुखी अभियान र राष्ट्रिय एकताको आवश्यकता रहेको उनको जोड थियो।
‘इतिहास र वर्तमान जोडेरमात्रै सुदृढ भविष्य निर्माण हुन्छ’
संयोजक दाहालले इतिहास र वर्तमानलाई जोडेर मात्रै राष्ट्रको भविष्य सुदृढ गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले फागुन १ केवल गौरवमय अतीतको स्मरणमात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे। उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मशाल यही दिन प्रज्ज्वलित गरेको बताए।
रुकुमपूर्वलाई क्रान्ति र शान्तिको साक्षी भूमि भन्दै उहाँले यही ठाउँबाट वंशमा आधारित शासन व्यवस्थाविरुद्ध विद्रोह सुरु भएको स्मरण गर्नुभयो। महिलाहरूले घुम्टो फालेर स्वतन्त्रताको आवाज उठाएको, आदिवासी जनजाति समुदायले पहिचान र स्वाभिमानका लागि सङ्घर्ष गरेको तथा दलित समुदायले जातीय उत्पीडनविरुद्ध आवाज बुलन्द गरेको दिन फागुन १ भएको उनको भनाइ छ।
सहिदको सम्मान
जनयुद्ध दिवसका अवसरमा संयोजक ‘प्रचण्ड’ले सहिद परिवार, घाइतेलाई सम्मान गरेका छन्। ३०औँ जनयुद्ध दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँ र पार्टीका नेतृ पम्फा भुसालले सहिद, बेपत्ता परिवार तथा घाइतेहरूलाई सम्मान गरेका हुन्। रासस







डिसी नेपाल







Facebook Comment