खाम मगर सभ्यताको विश्वव्यापी ब्रान्डिङ गरिने भन्दै प्रचण्ड तकसेरामा
रुकुम पूर्व । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतदाता भेटघाट कार्यक्रमका क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको पर्यटकीय स्थल तकसेरा पुगेका छन् ।
शनिबार साँझ तकसेरा पुगेका उनलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए।
स्वागत कार्यक्रममा महिला दिदीबहिनीहरू बालबच्चासहित नाचगान गर्दै सहभागी भएका थिए भने स्थानीय युवाहरूले पनि उत्साहजनक उपस्थिति जनाएका थिए ।
स्वागतपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले रुकुम पूर्वका जनताबाट आफूले नयाँ ऊर्जा प्राप्त गरिरहेको बताएका छन् । उनले रुकुमबाट समाजवादी मोडेलको सुरुआत गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यस क्षेत्रलाई क्रान्तिको सुरुआत तथा शान्ति यात्राको निर्णय भएको ऐतिहासिक भूमि भएको स्मरण गरेका छन् ।
संविधान निर्माण प्रक्रियामा आफ्नो पहलमा विशेष तथा स्वायत्त अधिकार संस्थागत गरिएको उल्लेख गर्दै उनले संविधानको मर्मअनुसार मगर समुदायका क्लस्टरहरूलाई स्वायत्त क्षेत्र घोषणा गर्ने योजना रहेको बताएका छन् ।
उनले ‘खाम मगर’ सभ्यताको संरक्षण, प्रवद्र्धन तथा विश्वव्यापी ब्रान्डिङमार्फत मगर समुदायको पहिचान सुदृढ गर्नुका साथै पर्यटन, संस्कृति र स्थानीय अर्थतन्त्रको विकासमा टेवा पुग्ने बताएका छन्।
उनले मगर सभ्यताको संरक्षण मात्र नभई क्षेत्रको समग्र सामाजिक–आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले आगामी निर्वाचनमा जनताको साथ र समर्थन रहने अपेक्षा व्यक्त गरेका छन् ।







डिसी नेपाल







Facebook Comment