काठमाडौं ७ बाट संसद छिर्छु, मतदाताले पछुताउन नपर्नेगरी काम गर्छु : प्रमोदहरि गुरागाईं
काठमाडौं। नेपाली कांग्रेसका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रमोदहरि गुरागाईंले आसन्न निर्वाचनलाई नीति निर्माण र सामाजिक सन्तुलन जोगाउने निर्णायक अवसरका रूपमा व्याख्या गरेका छन्।
उनले यसपटकको निर्वाचनमा कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार उठाएको उल्लेख गर्दै पार्टीभित्र उत्साह र एकता दुवै सुदृढ रहेको दाबी गरे।
उनले विगतका दुई निर्वाचनमा कांग्रेसका मतदाताले कतिपय क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभामा प्रत्यक्ष रूपमा मतदान गर्न नपाएको सन्दर्भ स्मरण गर्दै भने, ‘यसपटक रुखमा मत हाल्न पाइन्छ भन्ने कुराले कांग्रेस परिवारमा नयाँ ऊर्जा भरेको छ।’ गुरागाईंले पार्टीले देशव्यापी रूपमा स्पष्ट दृष्टिकोणसहित उम्मेदवार अघि सारेको र संगठनात्मक रूपमा ‘एक ढिक्का’ भएर चुनावी मैदानमा उत्रिएको जोड दिए।
यस पटकको निर्वाचन कानुन निर्माण र नीतिगत निर्णयका लागि भएको स्मरण गराउँदै उनले संसदमा अझै ३९ वटा कानुन निर्माण हुन बाँकी रहेको विषय उठाएका छन्। ‘यो वडा अध्यक्षको निर्वाचन होइन, नीति बनाउने निर्वाचन हो,’ उनले भने। मतदाताले उम्मेदवारको योग्यता, अनुभव र दीर्घकालीन सोचलाई ‘एक्स-रे’ दृष्टिले हेरेर निर्णय गर्नुपर्ने उनको आग्रह छ।
गुरागाईंले आफू १७ वर्ष मानवशास्त्र विषय अध्यापन गरेको अनुभवसहित राजनीतिमा आएको उल्लेख गर्दै नीति निर्माण गर्दा सामाजिक, सांस्कृतिक तथा दीर्घकालीन प्रभावलाई गम्भीरतापूर्वक विश्लेषण गर्ने प्रतिबद्धता जनाए। ‘निर्णय गर्नु अघि त्यसको अल्पकालीन र दीर्घकालीन प्रभाव के हुन्छ भन्ने कुरामा इमान्दार भएर काम गर्छु,’ उनले भने।
कांगे्रसका तत्कालीन महामन्त्री रहेका गगन थापाले विशेष महाधिवेशन गरेर तत्कालीन सभापति शेरबहादुर देउवाबाट आफूले नेतृत्व सम्हालेको विषयलाई उजागर गर्दै त्यसले कांग्रेस भित्र मन विभाजनको अवस्था आएको उल्लेख गरे।
तर, अब निर्वाचनलाई मनको विभाजन गर्ने माध्यम नबनाउन उनको आग्रह छ। ‘मत विभाजन हुन सक्छ, तर मन विभाजन गर्ने काम कदापि नगरौँ,’ उनले भने। लोकतन्त्रवादी भएकाले असहमत पक्षलाई पनि अंकमाल गरेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै सम्बन्ध नबिगार्न उनले आह्वान गरेका छन्।
साथै आफ्नो आफन्त र छरछिमेकमा समेत हार्दिकता र विनयशीलता कायम राख्न आग्रह गरेका छन्। विभिन्न जातजाति, भाषाभाषी र भौगोलिक विविधताले सम्पन्न नेपालको सामाजिक सन्तुलन बिगार्ने प्रयासप्रति सजग रहन पनि उनले आग्रह गरे।
निर्वाचन कसले जित्छ भन्नेभन्दा पनि चेतना र सामाजिक एकता जोगाउने विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै गुरागाईंले काठमाडौं क्षेत्र नम्बर ७ का मतदातासँग समर्थनको अपिल उनले गरेका छन्।
कांग्रेस नयाँ चेतना बोकेको पार्टी हो
पार्टीलाई ‘पुरानो’ भनेर गरिने आलोचनाको प्रत्युत्तर दिँदै गुरागाईंले जन्मका हिसाबले नयाँ पार्टी हुनु मात्रै पर्याप्त नहुने बताएका छन्। उनले नेपाली कांग्रेसलाई सामाजिक सन्तुलन कायम राख्ने र लोकतान्त्रिक मूल्यमा आधारित नयाँ चेतना बोकेको पार्टीका रूपमा चित्रण गरे। ‘नयाँ चेतना राख्ने पार्टी नेपाली कांग्रेस नै हो,’ उनले भने, ‘समाजभित्र सन्तुलन नबिगारीकन अघि बढ्ने सोच हाम्रो पार्टीको छ।’
उनले लोकतन्त्रमा असहमति राख्ने अधिकारलाई सुरक्षित राख्नुपर्ने भन्दै प्रतिद्वन्द्वी दलप्रति पनि सम्मान व्यक्त गरे। ‘हामी लोकतन्त्रमा विश्वास गर्ने पार्टी हौं। असहमतिलाई अंकमाल गरेर लैजानु हाम्रो दायित्व हो,’ उनले दाबी गरे।
गगन थापालाई प्रधानमन्त्री बनाउने दाबी
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको उल्लेख गर्दै गुरागाईंले मतदातासँग प्रतिनिधिसभामा कांग्रेस उम्मेदवारलाई जिताएर ‘इजाजत पत्र’ दिन आग्रह गरे। ‘हालको अवस्थामा प्रधानमन्त्री पदको गरिमा कायम राख्न सक्ने, प्रधानमन्त्रिय भाषा र कर्म प्रस्तुत गर्ने व्यक्ति गगनकुमार थापा हुनुहुन्छ,’उनले दाबी गरे।
उनका अनुसार प्रधानमन्त्रीको उम्मेदवारलाई सशक्त बनाउने आधार भनेकै प्रतिनिधिसभामा पार्टीको बहुमत हो। त्यसैले थापाको नेतृत्वमा सरकार बनाउन सबैले कांग्रेस उम्मेदवारलाई विजयी गराउनु आवश्यक रहेकोमा उनले जोड दिए।
काठमाडौंका तात्कालिक मुद्दा
गुरागाईंले काठमाडौं क्षेत्र नम्बर ७ का स्थानीय मुद्दालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। रिङरोड विस्तारसँगै धुलाम्मे सडकलाई हरियालीयुक्त बनाउनुपर्ने, साइकल लेन तथा अपाङ्गमैत्री पूर्वाधार निर्माण गर्नुपर्ने उनको धारणा छ।
विष्णुमती र सामाखुशी क्षेत्रको फोहोर व्यवस्थापनलाई अल्पकालीन र दीर्घकालीन योजनासहित सुधार गर्नुपर्ने उनले बताए । ‘नाक थुनेर हिँड्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ,’उनले भने।
स्थानीय सम्पत्तिको प्रयोगमा नागरिकलाई सुलभ पहुँच दिनुपर्ने विषयलाई पनि उनले आफ्नो प्राथमिकतामा राखेका छन्। यीनै पक्षलाई सुधार गर्नका लागि आफ्नो उम्मेद्वारी दिएको गुरागाईंले बताएका छन्।
गुरागाईंले आफू नेपाल विद्यार्थी संघमा तीन पटक केन्द्रीय सदस्य रहिसकेको, पार्टीका विभिन्न नेतासँग केन्द्रीय समितिमा बसेर काम गरेको अनुभव सुनाए । उनले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आबद्ध भई देशका ७२ जिल्ला पुगेर संगठनात्मक काम गरेको जानकारी दिए।
प्रतिबद्धता पत्र लेखन समितिमा सदस्यका रूपमा काम गरेको उल्लेख गर्दै उनले नीतिगत समझदारी र राष्ट्रिय दृष्टिकोण आफूमा रहेको दाबी गरे। आफ्नो जीवन पारदर्शी भएको दाबी गर्दै उनले अध्यापन पेशाबाट आर्जन गरेको आम्दानीमै जीवनयापन गरिरहेको बताए । ‘मेरो पहिचान यही हो, यसमा विचार गरिदिनुहोला,’ उनले मतदातासँग निवेदन गरे।
गुरागाईंले आफू निर्वाचित भएपछि मतदाताले पछुताउनु नपर्नेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘प्रतिनिधिसभामा पुगेपछि झुर मान्छेलाई मतदान गरिएछ भन्ने अवसर म दिन्न,’ उनले भने, ‘अहोरात्र समर्पित भएर काम गर्छु।’
उनले लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक सन्तुलन र नीति–आधारित राजनीतिलाई प्राथमिकता दिने बताउँदै मतदातासँग रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्।







डिसी नेपाल







Facebook Comment