जनताको शिर ठाडो हुनेगरी काम गर्नेछु : गोरख बहादुर बिष्ट ‘आनन्द’

डिसी नेपाल
३ फागुन २०८२ १७:२१
24
Shares

अत्तरिया । नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ले जनताको शिर ठाडो हुनेगरी काम गर्ने प्रतिवद्धता जनाएका छन्।

बिष्टले चुनावी अभियानलाई तिब्रता दिँदै गाउँ-गाउँमा पुगेर जनताको शिर झुक्न नदिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरिरहेका हुन्। ‘म समृद्ध सुदूरपश्चिम निर्माणको योजनासहित नवीन ऊर्जाका साथ तपाईंहरूको साथमा छु। राजनीतिका माध्यमबाट समाजसेवा गर्नु मेरो प्यासन हो। त्यही प्यासन बोकेर तपाईंहरूका माझमा आएको छु,’ जनतासँगको भेटघाटका क्रममा उनले भने।

अबको पाँच वर्ष स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न, जनताका आधारभूत आवश्यक्ता पूरा गर्न, युवाहरूलाई उत्पादनसँग जोड्न, युवामैत्री नीति निर्माण गर्न, शिक्षा, स्वास्थ्य र कृषि मैत्री नीति निर्माण गर्न आफूले सदनमा अहम भूमिका निर्वाह गर्ने उनको प्रतिवद्धता छ।

‘म सधैँ जनताको माझमा रहने व्यक्ति हुँ। मुलुकका विभिन्न असहज परिस्थितिमा मैले ठूलो सहयोग गरेको छु। अमेरिकामा रहँदा हजारौं नेपालीलाई रोजगारीमा आवद्ध गराउने काम गरेको छु। कोही बिरामी पर्दा सहयोग गरेको छु। अमेरिकामा ज्यान गुमाएका थुप्रै नेपालीको शव व्यवस्थापन वा नेपाल ल्याउने व्यवस्थाका लागि भूमिका निर्वाह गरेको छु। कोरोना महामारी, भूकम्प जस्ता विपत्तिमा नेपालमा ठूलो सहयोग गरेको छु। मेरै पहलमा डोटीमा दुई ओटा एम्बुलेन्स सञ्चालन छन्। डोटी र कैलालीका विभिन्न विद्यालयमा लाखौं रकम छात्रवृत्तिका लागि प्रदान गरेको छु। म जनतासँग रमाउने र उहाँहरूको सुखदु:खको सारथी बन्न चाहने व्यक्ति हुँ,’ उनले भने।

उनले आफ्नो राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्बन्धलाई आगामी दिनमा कैलाली–४ र सुदूरपश्चिमको विकास तथा समृद्धिमा सदुपयोग गर्ने बताएका छन्। ‘माटोका प्रत्येक समस्या मलाई थाहा छन्। विहान बेलुकी हातमुख जोड्न धौं–धौं भइरहेका दाजुभाइका दुःख मलाई थाहा छ। किसान र मजदुरका हातमा उठेका ठेलाको दुखाइ म महशुस गर्नसक्छु। त्यसैले ममा सधैँ गरिव र निमुखा जनताको पक्षमा काम गर्ने हुटहुटी छ। राजनीतिक समाजसेवाको सबैभन्दा उत्तम माध्यम हो। जहाँ हामी नीति निर्माण गरेरै जनताको पक्षमा काम गर्न सक्छौं। त्यसैले जनताको राजनीतिक सेवक बन्नका लागि मैले यो बाटो रोजेको हुँ,’ उनले भने।

उनी आफ्नो निर्वाचन क्षेत्रमा थुप्रै काम गर्नुपर्ने बताउँछन्। ‘गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका कैलाली–४ मा रहेका छन्। चुरे गाउँपालिका भौगोलिक रुपमा निकै विकट छ। त्यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूले कष्टकर जीवन बाँचिरहनु भएको छ। उहाँहरूले यातायात, विजुली बत्ती, औषधि उपचार, खानेपानी, बजारीकरण, शिक्षाको सुविधा, भौतिक पूर्वाधारलगायत थुप्रै समस्या खेपिरहनु भएको छ। गौरिगंगा र गोदावरीमा पनि कतिपय ठाउँ विकट छन्,’ उनी भन्छन्।

यस ठाउँमा थारु समुदायको पनि ठूलो बसोबास रहेको र उनीहरूले पनि थुप्रै समस्या खेपिरहनु परेको उनी औंल्याउँछन्। भूमिहिन र दलीत समूदाय पनि आफ्नो निर्वाचन क्षेत्रमा ठूलो समस्यामा रहेको उनले बताए। समतामूलक समाज निर्माण गर्दै थारु, जनजाति, महिला, पिछडिएका वर्गको उत्थानमा विशेष काम गर्ने बिष्टको भनाइ छ।

‘चुनाव प्राविधिक कुरा हो। म भोली विजय हुँला वा नहुँला तर जनताको माझमा सँधै रहिरहने छु। उहाँहरूका समस्या र मुद्दालाई बोकेर म सधैँ पैरवी गरिरहने छु। म यो ठाउँसँग कहिले पनि नछुट्टिने गरी गाँसिन पुगेको छु। जनताको ममाथिको भरोसालाई कहिले कुठाराघात हुन दिने छैन,’ उनले भने।

बिष्टले निर्वाचनको मुखमा जनता दिगभ्रमित हुने खोक्रा एजेण्डा नबाँड्ने बताउँदै आफूले तत्काल गर्न सक्ने र जनताको दैनिक जनजीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिएर काम गर्ने धारणा राखेका छन्। ‘म खोक्रा कुरा गर्ने स्वभावको व्यक्ति होइनँ। मैले बिसौं पेजको घोषणा पत्र लेखेँ भने पनि जनताले त्यसलाई पढ्नु भएको हुँदैन। घोषणा पत्रमा ठूला–ठूला सपना, राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा लेखिएका हुन्छन्। तर, ती घोषणा पत्रको प्रभावकारिता कति भएको छ भन्ने ख्याल गर्नुपर्छ। त्यसैले म सपनाको लड्डु बाँड्न यो निर्वाचन क्षेत्रमा आएको होइन। मेरो घोषणा पत्रमा जनताका तत्काल सम्बोधन गर्नुपर्ने विषय समेटिने छन्। यस क्षेत्रबाट कांग्रेसमाथि जनताले ठूलो भरोसा गर्नु भएको छ। त्यो विश्वासलाई हामी सधैँ जिवन्त राखिरहने छौं,’ उनले भने।

यतिबेला आफूहरूले घरदैलोका क्रममा जनताका लागि पहिलो चरणमा गर्नुपर्ने महत्वपूर्ण काम के हुन्, दोस्रो चरणमा गर्नु पर्ने वा तेस्रो, चौथो चरणमा गर्नु पर्ने काम के हुन् भनेर त्यसको छनोट गरिरहेको बताएका छन्। जनताबाट प्राप्त सुझावका आधारमा नै आफूले काम गर्ने उनले बताए।

‘कैलाली–४ औद्योगिक हव हो। यो सुदूरपश्चिमका सबै जिल्ला प्रवेश गर्ने प्रमुखद्वार पनि हो। गोदावरी, गौरिगंगा जस्ता धार्मिक क्षेत्र यहाँ छन्। चुरे पर्वतीय श्रृंखला यही छ। ऐतिहासिक गर्भा दरबार हाम्रो क्षेत्रमा छ। बुढीतोला, खानीडाँडा, लामिताल, मछेली पार्क र ताल, हाटखोली जस्ता थुप्रै पर्यटकीय गन्तव्य छन्। यी हाम्रा प्राकृतिक धरोहर हुन्। यस्ता ठाउँको प्रचारप्रसार, प्रवद्र्धन र संरक्षण गर्न सकेमा पर्यटक भित्र्याएर मनग्य आम्दानी गर्न सकिन्छ,’ उनले भने। कैलाली–४ लाई कृषि हवका रुपमा पनि विकास गर्न सकिने उनको भनाइ छ।

आफ्नो निर्वाचन क्षेत्रमा गरिबीको दर उच्च रहेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। ‘हाम्रा दाजुभाइको रोजगारीका लागि भारत पहिलो रोजाइ बन्ने गरेको छ। भारतमा काम गर्दा पनि दैनिकी टार्न धौं–धौं छ। उद्योग, कलकारखाना तथा अन्य विकास पूर्वाधारमा पछाडि रहेकाले मेरो क्षेत्रमा रोजगारीको अभाव छ। चुरेका विभिन्न स्थानमा अझैँ पनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, खाने पानी जस्ता आधारभूत आवस्यकताको पर्‍याप्तता छैन। अस्पतालमा चिकित्सक र औषधिको अभाव छ। पहाडी क्षेत्रमा पुग्न बाटोघाटोको निकै समस्या छ। वर्षातको समयमा डोकोमा बिरामी बोकेर तराईं ल्याउनु पर्ने अवस्था कायमै छ,’ उनले भने।

कृषि आधुनिकीकरण नहुँदा परम्परागत खेती प्रणालीबाट किसानले मनग्य आम्दानी गर्न नसकिरहेको उनको भनाइ छ। ‘मेरो निर्वाचन क्षेत्रमा खुटिया, शिवगंगा जस्ता उच्च कटान गर्ने नदी छन्। अथाह पर्यटकको सम्भावना हुँदा पनि हामीले प्रचार र सदुपयोग गर्न सकिरहेका छैनौं। महिला तथा दलित सशक्तीकरणको अवस्था कमजोर छ। सरकारी क्षेत्रमा भ्रष्टाचार र अनियमितता व्याप्त छ। यस्ता सबै समस्याको हल गर्न नै मेरो प्रमुख लक्ष्य रहने छ,’ उनले भने।

विकास बजेट पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको र त्यसको अन्त्य आवस्यक रहेको उनले बताए। ‘गेटा मेडिकल कलेजका लागि तयारी पारिएका संरचना अलपत्र छन्। त्यो अलपत्र संरचनाले हामीलाई गिज्याइरहेको छ र अझैँ पनि सुदूरपश्चिमका जनता उपचारको लागि भारत वा काठमाडौं धाउन पर्ने बाध्यकारी अवस्था कायमै छ। गेटा मेडिकल कलेजका नाममा भएको राजनीतिक खिचातानीले सुदूरपश्चिमबासीको भावनामा चोट पुर्‍याएको छ। यसलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ भन्नेमा म दृढ छु,’ बिष्टले भने।

आफूले सबैथोक गर्छुभन्ने झुटा बाचा नगर्ने तर कम्तिमा एउटा नागरिकले सहज रुपमा बाँच्नका लागि आवश्यक पर्ने अवस्थाको सिर्जनाका आफ्नो संघर्ष जहिले पनि रहने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.