किसानलाई डिजिटल आईडीमार्फत प्रत्यक्ष अनुदान, ५० प्रतिशत कृषि क्षेत्र जैविक बनाउने उज्यालो पार्टीको घोषणा

डिसी नेपाल
३ फागुन २०८२ १७:४३
20
Shares

काठमाडौं। किसानलाई डिजिटल आईडीमार्फत सिंचाइ, मल, बीउ र बिमाका लागि दिइने अनुदान सिधै बैंक खातामा पठाउने व्यवस्था गर्ने घोषणा उज्यालो नेपाल पार्टीले गरेको छ।

आइतबार पार्टीको चुनावी घोषणा पत्र सावर्जनिक गर्दै पार्टीले यस्तो घोषणा गरेको हो। उक्त योजना सार्वजनिक गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले पार्टीले कृषि क्षेत्र सुधारलाई प्राथमिकतामा राखेको जनाएका हुन्।

घोषणा अनुसार ‘किसानलाई प्रत्यक्ष अनुदान’ कार्यक्रममार्फत बिचौलिया नियन्त्रण गर्दै राज्यबाट उपलब्ध हुने सबै प्रकारका कृषि अनुदान रकम सिधै किसानको खातामा जम्मा गरिनेछ। यसका लागि डिजिटल आईडी प्रणाली विकास गरिने उल्लेख गरिएको छ। पार्टीले ‘अग्र्यानिक कृषि क्रान्ति’ कार्यक्रम पनि अघि सारेको छ। आगामी पाँच वर्षभित्र ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको छ।

जैविक उत्पादनको बजारीकरण सुनिश्चित गरिने र उत्पादित वस्तु राज्यले लागत मूल्यभन्दा २० प्रतिशत बढी मूल्यमा खरिद गर्ने व्यवस्था मिलाइने घोषणा गरिएको छ। युवा लक्षित कार्यक्रमअन्तर्गत ‘कृषि सहकारी स्टार्टअप फन्ड’ स्थापना गरिने जनाइएको छ। यसमार्फत युवा किसान समूहलाई ५ वर्ष अवधिका लागि २५ लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइनेछ।

सिंचाइ क्षेत्रमा विद्युत निःशुल्क उपलब्ध गराउने योजना पनि अघि सारिएको छ। कृषि सिंचाइका लागि प्रयोग हुने विद्युतमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिने पार्टीले जनाएको छ। त्यसैगरी व्यावसायिक कृषि गर्ने किसानका लागि माछा, कुखुरा तथा बाख्रा पालन, च्याउ उत्पादन, चिया खेतीलगायतका क्षेत्रमा सहुलियतपूर्ण विद्युत महसुल निर्धारण गरिने घोषणा पत्रमा उल्लेख छ।यस्तै, पार्टीले कृषि क्षेत्रलाई आधुनिक, व्यवसायिक र आत्मनिर्भर बनाउने लक्ष्यसहित किसानमैत्री नीतिहरू अघि सारेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.