त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि नेपाली टोलीको घोषणा, को–को परे टिममा?

डिसी नेपाल
२ असोज २०७६ १०:३८

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपालले बिहिबार पत्रकार सम्मेलन गरेर पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

नेपालले बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट १५ सदस्सीय टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।

नेपालले घोषणा गरेको टिममा दुई नयाँ अनुहार छन् । जसमा अलराउन्डर कुशल मल्ल र शीर्षक्रमका ब्याट्सम्यान इशान पाण्डे पहिलो पटक टोलीमा परेका छन् । घरायसी कामले ज्ञानेन्द्र मल्ल टिममा नहुदा दिपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिईएको छ ।

सिंगापुर क्रिकेटको आयोजनामा हुने टी–ट्वान्टी सिरिज सेप्टम्बर २७ बाट सुरु हुनेछ । सिरिजमा नेपाल, आयोजक सिंगापुर र टेष्ट राष्ट्र जिम्बावे रहेका छन् । नेपालले जिम्वाबेसँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिंगापुर क्रिकेटको अनुसार नेपालले सेप्टेम्बर २७ मा जिम्वाबेसँग खेल्नेछ ।

सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी-ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् । यसै सिरिजलाई मध्यनजर गरेर नेपालले भारतीय प्रशिक्षक वुरिटी भेन्कटरामलाई बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

नेपाली टोलीः

पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सोमपाल कामी, कारण केसी, विनोद भण्डारी, ललित नारायण राजबंशी, पवन सर्राफ, सन्दीप लामिछाने, अभिनास बोहोरा, कुशल मल्ल, आरिफ शेख, सुशन भारी, इशान पाण्डे, सन्दीप जोरा, रोहित कुमार पौडेल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *