मतपत्रसहितका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा पठाइँदै
काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कैलालीमा मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको छ। प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रका लागि समानुपातिक निर्वाचनतर्फको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको मतपत्रसहितका निर्वाचन सामग्री आइपुगेको जानकारी दिए। उनले भने, ‘भोलि मंगललबारसम्म सबै निर्वाचन क्षेत्रमा मतपत्रसहितको सामग्री पुर्याउने गरी काम धमाधम भइरहेको छ।’
कैलालीको निर्वाचन क्षेत्र–१ मा एक लाख आठ हजार ४९१, क्षेत्र–२ मा एक लाख सात हजार ७५७, क्षेत्र–३ मा एक लाख नौ हजार १२२, क्षेत्र–४ मा एक लाख १५ हजार १४३ र क्षेत्र–५ मा एक लाख १० हजार ५३९ गरी कूल पाँच लाख ५१ हजार ५२ मतदाता छन्।
निर्वाचनका लागि जम्मा ५१ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्नेमा ३७ प्रकारका सामग्री प्रदेश निर्वाचन कार्यालयबाट र बाँकी १४ प्रकारका निर्वाचन सामग्री केन्द्रबाट आपूर्ति गर्ने व्यवस्था गरिएको छ। फागुन ६ गतेदेखि मतदान अधिकृतका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदैछ।
निर्वाचनको तयारीको क्रममा सोमबारदेखि सुदूरपश्चिम प्रदेशभरिका सबै वडामा ७३४ मतदाता शिक्षा स्वयंसेवी परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ। खटिएका मतदाता शिक्षा स्वयंसेवीले विद्यालयका साथै घरदैलो कार्यक्रममार्फत मतदाता शिक्षा दिन थालेका छन्। यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सदूरपश्चिम प्रदेशमा राजनीतिक दलका र स्वतन्त्र गरी २०६ जना चुनावी प्रतिस्पर्धामा छन्।







डिसी नेपाल







Facebook Comment