‘संखुवासभाले सिंगो नेपाललाई कसरी पाल्न सक्छ ?’, यस्तो छ डा. अर्जुन कार्कीको संकल्प
संखुवासभा। नेकपा एमालेका तर्फबाट संखुवासभाका लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार डा. अर्जुन कार्कीले संखुवासभाले नै सिंगो नेपाललाई पाल्नसक्ने योजनासहितको चुनावी संकल्प गरेका छन्।
‘किन र कसरी पाल्छ संखुवासभाले नेपाल ?’ शिर्षकमा उनले महत्वपूर्ण संकल्प प्रस्ताव अघि सारेका हुन्। ‘मेरो संकल्प, मेरो अनुभव, मेरो जिम्मेवारी’ भन्ने अपील प्रकाशित गर्दै डा. कार्कीले आफ्नो जिल्लालाई ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोलका रुपमा चित्रित गरेका छन्।
‘संखुवासभा केवल एक जिल्ला मात्रै होइन-ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोल हो। यी स्रोतसाधनको इमान्दार, दीगो र न्यायपूर्ण उपयोग गर्न सके संखुवासभा मात्र होइन, नेपालकै अर्थतन्त्र सुदृढ हुन सक्छ,’ उनले अगाडि भनेका छन्,‘मेरो ३५ वर्षको विकास अनुभव, पूर्वराजदूत (संयुक्त राज्य अमेरिका), सार्क तथा अल्प विकसित मुलुकहरुका नागरिक संस्थाहरुको सञ्जालमा २५ वर्षको संयोजन, र राष्ट्रसंघ लगायतका अन्तरराष्ट्रिय मञ्चमा निरन्तर पैरवीका आधारमा मेरो संकल्प आएको हो।’
१० बुँदामा अघि सारिएको संकल्पमा पूर्वराजदूत समेत रहेको डा. कार्कीले जलविद्युतबाट प्राप्त हुने समृद्धिलाई राष्ट्रिय आम्दानीका रुपमा अघि सारेका छन्। अरुण तेश्रो जल विद्युत आयोजनाबाट स्थानीय हक, शेयर र रोयल्टी सुनिश्चित गराउँदै ऊर्जा निर्यातमार्फत विदेशी मुद्रा आर्जन बढाउन नीतिगत व्यवस्था गर्न गर्न पहल गर्ने उल्लेख गरेका छन्।
ऊर्जा कूटनीति र लगानीको क्षेत्रमा उनले आफ्नो कूटनीतिक पहुँच प्रयोग गरी ऊर्जा बजार, प्रविधि र लगानी भित्र्याउन रणनीतिक पहल गने उल्लेख गरेका छन्। जैविक कृषि र खाद्य सुरक्षा शिर्षकमा उनले संखुवासभालाई जैविक कृषि क्षेत्र घोषणा गराई, किसानलाई बीमा, सहुलियत ऋण र बजार ग्यारेन्टी दिलाउन कानुनी पहल गर्ने संकल्प पनि गरेका छन्।
‘जडीबुटीमा मूल्य अभिवृद्धि’ शिर्षकमा डा.कार्कीले कच्चा निर्यात होइन, स्थानीय स्तरमा प्रशोधन उद्योग स्थापना र ब्रान्डिङमार्फत राष्ट्रिय आय वृद्धि गर्ने नीति अघि सार्ने, ‘पर्यटनबाट रोजगारी’ अन्तर्गत मकालु बरुण राष्ट्रिय निकुञ्ज केन्द्रित पर्या पर्यटन (इकोटुरिज्म), पदमार्ग र पूर्वाधार विकासमार्फत स्थानीय युवालाई स्वदेशमै अवसर सिर्जना गर्न पहलगर्ने उल्लेख गरेका छन्।
‘सीमा व्यापार विस्तार’ अन्तर्गत किमाथांका नाकालाई पूर्ण सञ्चालनमा ल्याउन र अन्तरराष्ट्रिय व्यापार मार्ग सुदृढ गर्न संघीय स्तरमा रणनीतिक हस्तक्षेप गर्ने साथै प्राकृतिक स्रोतको दिगो उपयोग सन्दर्भमा जल, जंगल, जमिनको दोहन होइन, दिगोपन, वातावरणीय सन्तुलन र स्थानीय सहभागिता सुनिश्चित गर्ने कानुन निर्माण गर्न पहल गर्ने पनि उनले उल्लेख गरेका छन्।
‘सुशासन र पारदर्शिता’ शिर्षकमा उनले ठूला परियोजनामा सामाजिक लेखापरीक्षण अनिवार्य गर्दै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता लागू गर्ने नीति अघि बढाउने घोषणा गरेका छन्। त्यस्तै ‘युवाशक्ति र सीप विकास’ शिर्षकमा जलविद्युत्, कृषि र पर्यटन परियोजनामा स्थानीय युवा रोजगारी सुनिश्चित गर्दै पालिका स्तरमा सीप विकास केन्द्रहरु स्थापना गर्न पहल गर्ने उनले जनाएका छन्।
डा.कार्कीले ‘संखुवासभाबाट राष्ट्रिय समृद्धि’ शिर्षकमा स्थानीय सम्भावनालाई राष्ट्रिय नीति र अन्तरराष्ट्रिय बजारसँग जोड्दै ‘संखुवासभा जलविद्युतको राजधानी’ भन्ने भिजनलाई व्यवहारमा उतार्न नीतिगत, संरचनागत र रणनीतिक पहल गर्ने स्पष्ट पारेका छन्।
सांसदको काम आश्वासन होइन—नीति, कानुन र बजेटमार्फत संरचनागत परिवर्तन गर्ने भएकाले सोही अनुसार आफूले काम गर्ने डा। कार्कीको भनाइ छ। ‘मेरो अनुभव, अध्ययन र अन्तरराष्ट्रिय पहुँचलाई उपयोग गर्दै संखुवासभाको स्रोतसाधनलाई दिगो र न्यायपूर्ण ढंगले प्रयोग गर्दै संखुवासभा र प्रचुर जैविक श्रोतले धनी अरू जिल्लाहरूका बारेमा पनि संसदीय समितिहरू मार्फत नेपालको समुन्नतिमा योगदान गर्ने मेरो अटुट संकल्प छ,’ उनले भनेका छन्।
डा.कार्कीले संखुवासभा सक्षम छ भन्ने मूल नाराका साथ अगाडि भनेका छन्,‘इमान्दार नीति र सक्षम नेतृत्व भयो भने संखुवासभाले नेपाल पाल्छ, मैले त्यसै भनेको होइन। त्यसका लागि मलाई विजयी गराइदिनुहोला।’
डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन्। संखुवासभामा जन्मे हुर्केका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
डा कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएका छन्।
साथै उनले राष्ट्रिय विकास परिषद्को सदस्य रहिसकेका उनले सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय स्तरमा सक्रिय पैरवी गरेका थिए। गरिबी, असमानता, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा उनले सशक्त आवाज उठाउँदै आएका छन्।
संयुक्त राष्ट्रसंघ, विश्व बैंक, युरोपियन युनियन लगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गरेका डा.कार्की अब संखुवासभाका जनताको विकास र समृद्धिको चाहना संघीय संसदमा गुञ्जाउन चाहेको उनले बताए।







डिसी नेपाल







Facebook Comment