दाङका विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको अनुगमन

डिसी नेपाल
१२ फागुन २०८२ ७:३०
8
Shares

दाङ। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्येनजर गरी भौतिक पूर्वाधारबाट वञ्चित रहेका जिल्ला विकट स्थानका दुई अतिसंवेदनशील मतदानस्थलको दाङका मुख्य निर्वाचन अधिकृतसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ।

मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितको नेतृत्वमा गएको तुलसीपुस्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले अतिसंवेदनशील बबई गाउँपालिका–१ भाङाबारीमा रहेको जनकल्याण आधारभूत विद्यालयमा रहेको मतदानस्थल र सोही वडामा पर्ने सरस्वती जनता माध्यमिक विद्यालय गङ्गटेमा मतदानस्थलको अनुगमन गरेको हो।

अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ। त्यसैगरी, मतदानमा खटिने कर्मचारीलाई बस्ने व्यवस्थालगायत टोलीले जानकारी लिइएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए। ती दुवै मतदानस्थल विकट तथा दुर्गम स्थानमा रहेका छन्। ती स्थानलाई दाङको कर्णाली भनेर चिनिने गरिन्छ।

अनुगमन टोलीमा दाङ इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख उपसचिव पुष्प पौडेल, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जाली, निर्वाचन क्षेत्र नं २ सहायक निर्वाचन अधिकृत भुपाल भण्डारी, राष्ट्रिय समाचार समिति दाङका प्रमुखलगायतको सहभागिता थियो ।

निर्वाचन अधिकृत सिञ्जालीका अनुसार दाङ निर्वाचन क्षेत्र नं ३ मा ५६ वटा मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको उनले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.