स्थलगत रिर्पोटिङ

झापा ५ मा दुर्लभ संयोगः प्रत्यक्ष मतदानबाट प्रधानमन्त्री छान्दै मतदाता

डिसी नेपाल
१५ फागुन २०८२ १०:०४
1.4k
Shares

झापा। निर्वाचन आउन ६ दिन बाँकी हुँदा झापा-५ देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उम्मेदवार भएर गएपछि चर्चाको शिखरमा पुगेको हो।

शाह त पूर्व घोषित भावी प्रधानमन्त्रीको उम्मेदवार हुन्। ओली पटक पटक प्रधानमन्त्री भैसकेका व्यक्ति उनले घोषणा गर्नु परेन। यो सत्ता समीकरणको केन्द्रबिन्दु बनेको छ। मतदाता मात्र प्रतिनिधि छानिरहेका छैनन्, उनीहरूले सम्भावित प्रधानमन्त्रीको भाग्य लेखिरहेको बेला ओली आफैं इतिहासकै कठिन चुनाव लडिरहेका छन् भने बालेनचाहि इतिहाँस रच्ने दाउमा लागेका छन्।

अहिले झापा क्षेत्र नम्बर ५ को निर्वाचन निकै रोचक र पेचिलो बनेको छ। झापा-५ लाई यो चुनावको इपिसेन्टरका रुपमा समेत हेरिएको छ। जेनजी आन्दोलनमा राजीनामा दिन बाध्य पारिएका तत्कालिन प्रधानमन्त्री ओली र युवाहरुमाझ चर्चा बटुलेका काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख शाहबीच प्रतिष्पर्धाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत चर्चायोग्य बनाइरहेका छन्।

२२ उम्मेदवार, तर मुख्य प्रतिस्पर्धा दुईबीच

झापा-५ मा कूल २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । तर प्रतिस्पर्धा मूलतः एमाले अध्यक्ष ओली र रास्वपा नेता शाहबीच केन्द्रित देखिन्छ। झापा-५ बाट जो पराजित हुन्छ, उसले प्रधानमन्त्री बन्ने दौड त्यहीं समाप्त गर्नुपर्नेछ।

तर समीकरण यति सरल छैन। यदि अन्य २० उम्मेदवारमध्ये कसैले ‘सरप्राइज’ नतिजा निकाल्यो भने दुवै प्रमुख दाबेदार संसद् प्रवेशमै असफल हुन सक्छन्। यस्तो अवस्थामा सत्ता नेतृत्वको समीकरण नै उल्टिन सक्छ। यो विषयमा झापामा मतदाताहरु सचेत रहेको पाइन्छ।

दमकको मत निर्णायक

१ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेको झापा-५ मा सबैभन्दा निर्णायक शक्ति दमक नगरपालिका बनेको छ। १० वटा वडामा रहेका ६५ हजार ९ सय ९७ मतदाताले अन्तिम परिणामलाई प्रभावित गर्नेछन्। दमक यसअघि एमालेको प्रभाव क्षेत्र मानिन्थ्यो। तर पछिल्लो समय युवा पुस्ता र नयाँ दलप्रति आकर्षण बढेको चर्चा छ।

दमकमा मध्यम वर्गीय परिवार र सुकुम्वासीले बालेनलाई मन पराएको देखिन्छ भने अन्य वर्ग र समूदाय मत विभाजित गर्ने पक्षमा देखिएको छ। दमकमा राप्रपा, कांग्रेस, राजावादी, एमालेको मिश्रित मत रहेको छ। दमकको मत निर्णायक हुने अवस्थामा ओली र बालेनलाई बराबरीखस्ने अवस्था छ।

गौरादहका मतदाता ओलीप्रति आक्रमक

८ वडासहित ४१ हजार ४ सय ७५ मतदाता रहेको गौरादह नगरपालिकामा पुराना दलप्रति असन्तुष्टि बढ्दो छ। जग्गाको नक्सा पास नहुनु, विकास आयोजनामा ढिलासुस्ती र सेवा प्रवाहमा कमजोरीजस्ता मुद्दाले यहाँका मतदाता निराश छन्।

यद्यपि विगतका निर्वाचनमा कांग्रेस र एमालेले यहाँबाट राम्रो मत पाउँदै आएका थिए। तर यसपटकको माहोल फरक देखिन्छ। अहिले ओली र बालेनलाई यहाँबाट राम्रो मत आउने देखिन्छ। यहाँबाट ओलीले ‘लिड’ नगर्ने हो जीत निकाल्न धौ धौ पर्नेछ।

झापा-५ मा दुई गाउँपालिका छन्। गौरीगञ्ज र कमल गाउँपालिका हुन्। कमल गाउँ पालिकामा एमालेको राम्रो बर्चश्व रहेको छ। गौरीगञ्जका ४ वडामा १५ हजार १ सय २१ मतदाता छन्। यहाँ अल्पसंख्यक समुदाय र कृषक वर्गको प्रभाव बढी छ। उनीहरू रोजगारी, सिँचाइ र बजार व्यवस्थापनलाई प्रमुख मुद्दा बनाइरहेका छन्।

कमल गाउँपालिकामा ७ वडामा ४० हजार ७ सय ८६ मतदाता छन्। यहाँ पनि पुराना दलप्रति असन्तुष्टि सुनिन्छ, तर संगठनात्मक बल अझै एमाले र कांग्रेसकै बलियो मानिन्छ।

२०७९ सालको स्थानीय तह निर्वाचनमा झापा-५ का २९ वडामध्ये एमालेले १७ वडाध्यक्ष जितेको थियो। कांग्रेसले ७, माओवादी केन्द्रले २, समाजवादीले १, राप्रपाले १ र स्वतन्त्रले १ वडाध्यक्ष जितेका थिए।यो परिणामले एमालेको संगठन बलियो रहेको देखाउँछ। तर प्रतिनिधिसभा निर्वाचन स्थानीय भन्दा फरक समीकरणमा चल्ने भएकाले यसलाई अन्तिम संकेत मान्न सकिँदैन।

ओली र बालेन वारपार

एमाले अध्यक्ष ओली आफूलाई अनुभवी नेता र स्थिर सरकारको विकल्पका रूपमा प्रस्तुत गरिरहेका छन्। राष्ट्रिय राजनीतिमा ओलीको प्रभाव र अनुभवको विकल्प छैन भन्ने एमाले नेता र कार्यकर्ताको भनाई छ। ओलीले विकास, पूर्वाधार र राष्ट्रिय स्वाभिमानका मुद्दा उठाउँदै मतदातासँग समर्थन मागिरहेका छन्। उनी झापा-५ लाई आफ्नो राजनीतिक गढ मान्छन्।

रास्वपाका बालेन शाह भने नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै ‘परिवर्तन’ र ‘पारदर्शिता’को नारासहित मैदानमा छन्। युवापुस्तामा उनको प्रभाव उल्लेख्य देखिन्छ। उनले भ्रष्टाचारविरुद्ध कठोर कदम, सेवा प्रवाहमा सुधार र स्थानीय समस्या समाधानलाई प्राथमिकता दिने बताएका छन्।

तर उनले उठाएका मुद्दामा झापाली जनताले खास विश्वास गरेका छैनन्, एकपटक ओलीलाई चेतावनी दिन चाहन्छन्। देशभर नयाँ र पुराना दलबीच ध्रुवीकरण भइरहँदा झापा-५ पनि त्यसबाट अछुतो छैन। घरदैलो, सभा-सम्मेलन र सामाजिक सञ्जालमा तीव्र बहस देखिन्छ। मतदाता भने अझै अन्तिम निर्णयमा पुगेका छैनन्। धेरैले खुलेर समर्थन जनाउन हिच्किचाइरहेका छन्।

झापा-५ मा को विजयी हुन्छ भन्ने प्रश्नले राष्ट्रिय राजनीतिलाई नै प्रभावित गर्नेछ। प्रधानमन्त्री बन्ने दाबी गरिएका दुईमध्ये कम्तीमा एक जनाको सपना २१ फागुनमै टुट्ने निश्चित छ। तर राजनीति अनिश्चितताको खेल हो।

यदि मतदाताले चकित पार्ने निर्णय गरे भने दुवै दाबेदार संसद् बाहिर रहन सक्छन्। त्यसैले झापा-५ अहिले केवल एउटा निर्वाचन क्षेत्र होइन-यो देशको भावी सत्ता समीकरणको प्रयोगशाला बनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.